शनिबार, चैत २८, २०८२

थारु नाच संरक्षणमा युवा

मेरोन्यूज २०७९ पुष २५ गते ८:५०


देउखुरी । तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै छन् । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका गाउँका युवा लुंगे नाच प्रदर्शन गर्न जुटेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

“हामी युवाले नै अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ”, स्थानीयवासी चौधरीले भने, “यस वर्षदेखि हामी आफैँ सक्रिय भएका छौँ ।” योभन्दा पहिले सोही क्षेत्रमा युवाले थारु नाच पनि नाच्दैनथे । परम्परागत रुपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिदै गएको अवस्था भएपछि यसलाई जोगाउन आफूहरु सक्रिय भएको उनको भनाइ थियो ।

त्यस्तै सोही ठाउँकी अस्मिता चौधरी पनि थारुको पोसाकमा सजिनुभएको थियो । युवतीहरुले पनि आफ्नै समूह बनाएर नाच गर्न थालेका छन् । “पहिले बूढापाकाले मात्रै नाच्नु हुन्थ्यो”, उनले भने, “अब हामी पनि यो नाचमा सक्रिय हुन थालेका छौँ ।”

यस वर्षदेखि आफूहरु नाच संरक्षणमा लागेको उनको भनाइ थियो । थारु समुदाय संस्कार र संस्कृतिमा धनी भए पनि त्यसलाई जोगाउन नसक्दा लोप हुँदै जान थालेको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको बताए । उनीहरु उदाहरण मात्रै हुन् ।

पछिल्लो समय युवाहरु थारु संस्कार, संस्कृति संरक्षणमा सक्रिय देखिएका छन् । जिल्लाका सबै स्थानीय तहले माघीको अवसरमा विशेष कार्यक्रम गर्दै आएका छन् । दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । सबैजसो पालिका तथा वडामा माघी विशेष कार्यक्रम भइरहेको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । “हामीले पनि माघी विशेष कार्यक्रम ग¥यौँ”, उनले भने, “सबैजसो पालिका र वडाले कार्यक्रम गर्नुहुन्छ, यसले पनि युवा थारु संस्कार, संस्कृति संरक्षणमा लाग्ने गर्नुभएको छ ।” तुलसीपुरमा मात्रै एक सय २७ थारु समुदायका गाउँ छन् ।

थारु समुदायले झुम्रा, सखिया, लठ्ठहवा, मुङ्गहवा, हुर्दवा, मघौटा, बर्कालगायतका नाच नाच्ने गर्छन् । माघी नजिकिँदै गर्दै गाउँगाउँमा माघी विशेष कार्यक्रम भइरहेका छन् । माघीको रौनक बढिरहेको छ । आफ्नो वेशभूषामा थारु समुदाय सचिरहेका हुन्छन् । थारु समुदायका परिकार पनि पाकिरहेका छन् ।

प्रतिक्रिया