तीन लाख भेडा बाख्रालाई पिपिआर खोप

काठमाडौँ । नुवाकोट र रसुवामा जारी रहेको पिपिआर खोप अभियानमा करिब तीन लाख भेडा बाख्रालाई खोप लगाइने भएको छ ।
नुवाकोट र रसुवा कार्य क्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पिपिआर (हैजा) रोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई आग्रह गरे ।
उनका अनुसार नुवाकोटका दुई लाख ३५ हजार र रसुवाका ३१ हजार भेडा बाख्रालाई खोप लगाउन दुई जिल्लामा रहेका १७ स्थानीय तहका पशुसेवा शाखा प्रमुखको समन्वयमा ६० जना भ्याक्सिनेटर (खोपकर्ता) परिचालन गरिएको छ ।
“अभियानका क्रममा भेडाबाख्राको खोरमा नै पुगेर खोप लगाउन भ्याक्सिनेटर खटाइएको छ”, केन्द्र प्रमुख पाण्डेले भने, “थोरै संख्यामा पालन गर्ने किसानका लागि तोकिएको केन्द्रसम्म ल्याउन अनुरोध गरिएको छ, कम्तिमा २० सम्म भेडाबाख्रा पालन गर्ने किसानको खोरमा नै पुगेर खोप लगाउने व्यवस्था मिलाएका छौं ।”
भेडा बाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि पिपिआर रोग विरुद्धको खोप दिन थालिएकाले सबै किसानलाई सहभागी हुन र गराउन खोप कार्यक्रम अभियानका रुपमा एकैसाथ सबै स्थानमा सञ्चालनमा ल्याइएको विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बब्लु ठाकुरले जानकारी दिए ।
उनका अनुसार भेडा बाख्रामा महामारीका रुपमा फैलने र प्राण घातक मानिएको पिपिआर रोगको उपचारसमेत सम्भव नहुँदा रोगबाट बचाउन खोप लगाउनु नै एकमात्रै उपाय मानिने गरिएको छ ।
“जन्मेको तीन महिना पूरा भएका (गर्भवती तथा सुत्केरी भेडाबाख्रालाई समेत) खोप लगाइने भए पनि स्वास्थ्यमा समस्या भएकालाई खोप लगाउन हुँदैन”, पशु चिकित्सक डा ठाकुरले भने, “नेपालमा नै बनेको र वर्षौंदेखि सफल कार्यान्वयनमा आइसकेकाले पिपिआर खोप शत्प्रतिशत सुरक्षित छ, आफूले पालन गरेका भेडाबाख्रालाई ढुक्क भएर खोप कार्यक्रममा सहभागी गराउन किसानलाई आग्रह गर्दछौँ ।”
यो रोग लागेमा चौबिस घण्टादेखि एक साताभित्र प्राणसमेत जाने भएकाले किसानलाई पशुधनको रक्षा गर्न, पशुपालन पेसामा टिकाइराख्न र व्यावसायिक रुपमा निरन्तरता दिने वातावरण सुनिश्चित गर्न भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रम बागमती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अभियानका रुपमा प्रदेशका सबै जिल्लामा सञ्चालन भइरहेको जनाएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया