बिहीबार, चैत १२, २०८२

आँबुखैरहनी–दमौली सडकखण्ड आजबाट दैनिक ४ घण्टा बन्द

मेरोन्यूज २०७९ फागुन १८ गते १०:०९


काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँले बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने सूचनामार्फत जानकारी दिएको छ।

आयोजनाका प्रमुख नगेन्द्र सुवेदीले सो खण्डमा डाइभर्सन बनाउने ठाउँ नभएको र भित्ता काट्नुपर्ने काम भएकाले रातिमा राजमार्ग बन्द गरेर सडक विस्तारको कामलाई गति दिन लागेको बताए ।

तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको भन्दै कामको गति बढाउन दबाब परेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन ।

आँबुखैरहनी पोखरा ८० किलोमिटर सडक खण्डलाई दुई भागमा बाँडेर सडक विस्तारको काम थालिएको झण्डै डेढ वर्ष बितिसकेको छ । प्रगति जम्मा ११ प्रतिशतको हाराहारीमा छ ।

तनहुँको आँबुखैरहनीदेखि म्याग्दे गाउँपालिकाको जामुने भञ्ज्याङसम्मको ४१ किलोमिटर सडकको २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको हो । तीन वर्ष भित्र बनाइसक्ने गरी चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले ६ अर्व ३१ करोडमा ठेक्का लिएको हो ।

पश्चिमखण्ड जामुने–पोखरा (३९ किलोमिटर) मा सडक विस्तारको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको छ । २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पश्चिम खण्डको ठेक्का सम्झौता भएको झण्डै डेढ वर्ष भइसक्दा पनि सडक विस्तारको प्रगति निकै न्यून छ ।

प्रतिक्रिया