दुई दिनको वर्षाले ताप्लेजुङमा भयो हिमपात

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मंगलबार भएको वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।
घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गएराति पनि हिमपात भएको छ । यस्तै ओलाङ्चुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।
यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष फागुन १५ गते पनि हिमपात भएको थियो । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।
हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।
















झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
मौसम पूर्वानुमान: कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया