सोमबार, चैत १६, २०८२

आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गर्न परिसङ्घको आग्रह

मेरोन्यूज २०८० वैशाख २६ गते २०:४२

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले ‘मन्दीदेखि समृद्धि, लगानीमा अभिवृद्धि’ विषयमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटका लागि आज अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष बजेट सुझाव पेश गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

परिसङ्घले मुुलुकलाई आर्थिकमन्दीबाट उकास्न लगानीमैत्री बजेट ल्याउन जोड दिँदै त्यसका लागि गरिनुपर्ने व्यवस्थासहितको सुझाव पेश गरेको हो ।

बजेट सुझाव हस्तान्तरण गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र मन्दीतर्फ गइरहेकाले यसबाट अर्थतन्त्रलाई उकास्न सरकारी तथा निजी क्षेत्रबाट व्यापक लगानी बढाउन आवश्यक रहेकाले आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गर्दै सोहीअनुरुप बजेट ल्याउनुपर्ने बताए ।

परिसङ्घले औद्योगीकरण, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन, स्वदेशी उत्पादन प्रवद्र्धन एवं बजार नियमन, पूर्वाधार विकास, नवप्रवर्तन, घरेलु, साना तथा मझौला उद्योग, व्यवसाय, ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि तथा जडीबुटीजस्ता क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेट तर्जुमा गर्न सुझाएको छ ।

सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा महतले उद्योग व्यवसाय प्रवद्र्धन गर्न लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए । उनले परिसङ्घबाट प्राप्त सुझावको गहन अध्ययन गरी बजेटमा सम्बोधन गर्न प्रयास गर्ने जानकारी दिएको परिसङ्घले जनाएको छ ।

प्रतिक्रिया