बिहीबार, चैत २६, २०८२

हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु

मेरोन्यूज २०८० असार २६ गते १६:१७

काठमाडौँ । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार आज (मंगलबार)देखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो । असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार पनि रोक्का रहने छ ।

सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक बचत बैंकका खाताहरूलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक बचत बैंकका खाता हस्तान्तरण गर्न थालिएको छ । राष्ट्रिय बैंकसँग असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरु भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक बचत बैंकमा रहेका बचतकर्ताका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी हुलाक वचत बैंकहरुको व्यवस्थापन गर्नका लागि गर्नका लागि सञ्चालनमा रहेका हुलाक बचत बैंकमा रहेको समग्र नाफा रकमबाट हाल घाटामा रहेका तथा कर्मचारीबाट हिनामिना भएका रकम भुक्तानी गरी बाँकी रहेको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

हुलाक बचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारवाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय पनि सरकारले गरिसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

त्यस्तै, हुलाक बचत बैंकमा रहेका खाताहरू हस्तान्तरणपछि हुलाक बचत बैंक खारेज गरी हुलाक बैंक नियमावली २०३४ को खारेजीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद्बाट भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

देशभरि सञ्चालनमा रहेका ६८ वटा हुलाक बचत बैंकमध्ये १२ वटा घाटामा चलेका थिए । त्यहाँ कार्यरत कर्मचारीबाट बचत रकम हिनामिनासमेत गुनासो आउन थालेपछि आवश्यक पहल गर्दै सञ्चार मन्त्रालयले बचतकर्ताको रकमको सुरक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरणका लागि पहल थालेको थियो ।

सानातिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिङ सुवधा प्रदान गर्न स्थापना भएका हुलाक बचत बैंकको सेवा र कारोवारमा बचत तथा ऋण सेवा प्रदान गर्ने बैंक तथा तथा वित्तीय संस्थाहरुको विस्तारसँगै संकुचन आएको छ ।

जसका कारण हुलाक बचत बैंक न्यून प्रभावी बन्न पुगेको निष्कर्षसहित सरकार हुलाक बचत बैंकका खातालाई ‘क’ वर्गको सरकारी बैंकमा स्थानान्तरण गरी हुलाक बचत बैंक खारेज गर्ने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया