सोमबार, चैत १६, २०८२

इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तानसँग भिड्दै

मेरोन्यूज २०८० असार २९ गते ७:१२

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आज पाकिस्ताननसँग भिड्दै छ । पहिलो खेल नेपालले बलियो पाकिस्तानसँग खेल्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली समय अनुसार, बिहान १० बजेर १५ मिनेटमा सुरु हुने खेलमा टेस्ट राष्ट्र पाकिस्तानले आफ्नो ‘‘ए’ टोली सहभागी गराएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली छन् ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल छन् ।

टोलीमा ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ सेख छैनन् । नेपालले अधिकांश युवा खेलाडीलाई टोलीमा अवसर दिएको छ ।

इमर्जिङ टिम्स एसिया कपको तीन संस्करण खेलेको नेपालले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक हङकङलाई हराएको थियो ।

इमर्जिङ टिम्स एसिया कपका लागि पाकिस्तानले भने मोहम्मद हारिसको कप्तानीमा टोली बनाएको छ । पाकिस्तानी टोलीमा ओमिर युसुफ (उकप्तान), सइम अयुब, कासिम अकरम, तैयब ताहिर, मुबासिर खान र साहिबजादा फरहान छन् ।

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ । समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।

प्रतिक्रिया