मंगलबार, वैशाख ९, २०८२

सेवा प्रवाह प्रक्रियालाई प्रभावकारी बनाउन जरुरी छ : उपराष्ट्रपति

मेरोन्यूज २०८० साउन ३ गते २०:०८

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् ।

जनप्रशासन संघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले भने, ‘नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भई यहाँ तीन तहको संरचनाअनुसारको सरकार छ । यो बदलिँदो संरचनामा सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन जरुरी छ । यसका लागि प्रशासक, व्यवस्थापक र कर्मचारीहरूलाई थप प्रशिक्षण, ज्ञान, कार्यदक्षता र सीपको आवश्यक हुन्छ ।’

उनले नेपालको प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका जनगुनासो अन्त्य हुनु पर्ने बताए । ‘हेमबहादुर मल्ल सम्मान’ समर्पण समारोमा उपराष्ट्रपति यादवले सार्वजनिक क्षेत्रको नीति–निर्माण, पुनरावलोकन र मूल्यांकनमा संघले व्यावसायिक पृष्ठपोषण गर्ने गरेकामा खुसी व्यक्त गरे ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धनका लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।

उनले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने महत्त्वपूर्ण व्यक्तित्वहरूलाई संघले गर्दै आएको सम्मान कार्यक्रमको प्रशंसा गरे ।

प्रशासन र व्यवस्थापन क्षेत्रका समसामयिक विषयमा मुलुकलाई दिशानिर्देश गर्न संघ सदैव सक्रिय रहने विश्वास व्यक्त गर्दै उनले मुलुकमा सुशासन कायम गर्न, विधिको शासन सञ्चालन गर्न, जवाफेदेहिता र उत्तरदायित्व अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरण गर्न संघ सधैँ क्रियाशील रहन सकोस् भनी कामना गरे ।

प्रतिक्रिया