शनिबार, फागुन ९, २०८२

अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने प्रेस काउन्सिलको पत्रप्रति इमानको आपत्ति

मेरोन्यूज २०८० साउन १६ गते ८:१७

काठमाडौँ । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान)ले सङ्घका उपाध्यक्ष समेत रहेका दैनिकी डट कमका प्रधानसम्पादक माधवप्रसाद तिवारीलाई सामाजिक सञ्जाल मार्फत गरेको प्रश्नका बारेमा प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टिकरणप्रति आपत्ति जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार महासचिव सुरज प्याकुरेलले विज्ञप्ती मार्फत इमानले प्रेस काउन्सिल नेपाल र सूचना विभागमा हुने काम निश्चित पैसा लिएर सम्बधित सञ्चालकको उपस्थितिविनै सबै गरिदिन्छु भनी लेखिएको सम्झना पौडेल र दीपक आचार्यको इमेलबाट आएको पत्रको स्क्रिनसट राखेर उपाध्यक्ष तिवारीले फेसबुकमा प्रश्न उठाएको विषयलाई लिएर काउन्सिलले जवाफ पेश गर्न भन्दै ३ दिनको समय सीमा नै तोकेर पत्राचार गरेकोप्रति गम्भीर आपत्ति जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘मालपोत र यातायात कार्यालयमा निश्चित पैसा लिएर काम गरिदिन्छु भन्दै सेवाग्राहीलाई हैरानी गर्ने विचौलियाले जस्तै प्रेस काउन्सिलमा समेत काम गरीदिन्छु भन्दै खुलेआम रुपमा इमेल गर्न थालेपछि उठाइएको प्रश्न पछि यस बिषयमा आवश्यक छानविन गरी दोषीलाई कारवाही गर्नुपर्नेमा उल्टै जवाफ पेश गर्न भन्दै प्रश्न उठाउने व्यक्तिलाई पत्र काटिनु खेदजनक छ । यसले काउन्सिलकै कर्मचारी पदाधिकारीको संलग्नताको शंका जन्मिएको छ ।’

विज्ञप्तीमार्फत इमानले काउन्सिल जस्तो सम्मानित संस्थाकै अपमान हुनेगरी खुलेआम विचौलियाको संरक्षण गर्दै काटिएको उक्त पत्र फिर्ता लिई माफी माग्न काउन्सिललाई इमानले आग्रह गरेको छ । साथै, विज्ञप्तीमा संविधानमै उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्दै विचौलिया संरक्षण गर्ने कार्य नगर्न प्रेस काउन्सिल नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराईएको छ ।

प्रतिक्रिया