शनिबार, फागुन ९, २०८२

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय, लाहोरबाट पक्राउ

मेरोन्यूज २०८० साउन २० गते १४:३०

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार आरोपमा इस्लामावाद ट्रायल कोर्टले ३ वर्ष जेल सजाय सुनाएको छ । उनलाई शनिबार अदालतले जेल सजाय सुनाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

जेल सजाय सुनाइएका खान लाहोरबाट पक्राउ समेत परेका छन् । इस्लामावाद ट्रायल कोर्टले शनिबार पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ) का अध्यक्ष रहेका खानलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय सुनाएको द डनले जनाएको छ।

तोशाखाना केसमा उनलाई तीन वर्ष जेलसँगै एक लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ।

सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरूद्धका आरोप पुष्टि भएको बताएका थिए।

‘इमरान खानले पाकिस्तानको निर्वाचन आयोगलाई नक्कली विवरणहरू दिएका थिए र भ्रष्ट अभ्यास गरेकोमा उनी दोषी देखिएका छन्,’ उनले भने।

खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको डनले जनाएको छ। यस प्रकरणमा अदालतले दोषी देखाउँदै ५ वर्ष राजनीति गर्न पनि प्रतिबन्ध लगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

एडिएसजे दिलावरले आदेशको कार्यान्वयनको लागि प्रतिलिपि इस्लामावाद प्रहरी प्रमुखलाई पनि दिन भनेका छन्।

पाकिस्तान प्रहरीले खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरेको रोयटर्सले जनाएको छ। खानका वकिल इन्तजार हुसैन पन्जुथाले रोयटर्सलाई फोन गरी खान पक्राउ परेको जानकारी दिएका हुन्।

सुनुवाइ सुरू हुनुअगावै अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

इजलासमा पनि वकिलहरूलाई मात्रै प्रवेश दिइएको थियो। उक्त सुनुवाइ हुँदा खान अदालतमा उपस्थित थिएनन्।

खानले आफू प्रधानमन्त्री हुँदा पाएका उपहारहरू अवैध तरिकाले बेचेको आरोप छ। जसलाई तोशाखाना प्रकरण भन्ने गरिएको छ।

यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरूद्ध मे १०मा उजुरी दिएको थियो।

प्रतिक्रिया