कालोपत्र गरेकाे महिनादिनमै भत्कियाे सडक

गण्डकी । पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो ।
कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताए । “एक महिना पनि कालोपत्र टिकेन, खाल्डाखुल्डी परेर पानी जमेको छ”, उनले भने, “यस्तो गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्छ ।”
रानाभाटले कालोपत्रको सतह नमिल्दा वर्षातको पानी घरभित्र छिर्ने गरेको सुनाए। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो ।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको बताए । “वर्षाका बेला हतारहतार कालोपत्र गर्दा हुने नै यही हो, असारे विकासको प्रवृत्ति बेठिक छ”, उनले भने, “निर्माणमा लापरबाही भएको देखिन्छ, यसमा सम्बन्धित मन्त्रालयको ध्यान पुगोस् ।” उपभोक्ता समिति बनाएर सडक कालोपत्र गरिएको थियो । निर्माणको भुक्तानी पनि भइसकेको छ ।
पूर्वाधार विकास कार्यालय कास्कीका सूचना अधिकारी ई अनुप थापाले वर्षाका कारण कालोपत्र सेट हुन नसकेको बताए । “निर्माणका क्रममा अनुगमन गर्दा लापरबाही भएको देखिएको थिएन, यो विषयमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गर्छौँ”, उनले भने, “कमजोरी गरेको भेटिएका कारबाही प्रक्रिया अगाडि बढ्छ ।”
ई थापाले वर्षात कम भएपछि सडक मर्मतको काम गरिने बताए । उनले आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणका काममा गुणस्तरको समस्या देखिने गरेको उल्लेख गरे । “समय कम हुन्छ, निर्माण व्यवसायीले पनि हतारहतार काम गर्छन्, प्रभावकारी अनुगमन पनि हुँदैन”, ई थापाले भने ।

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया