सोमबार, चैत १६, २०८२

महिला विश्वकप : उपाधिका लागि इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदै

मेरोन्यूज २०८० भदौ २ गते २१:४६

काठमाडौं । फिफा महिला विश्वकपको उपाधिका लागि आइतबार इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम पहिलो पटक विश्वकपको फाइनल पुगेका हुन् । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा फाइनल खेल हुन लागेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

खेल नेपालको समय अनुसार पौने चार बजे सुरु हुनेछ ।

सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियालाई तीन(एक गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । स्पेनले उपाधि दाबेदार मानिएको स्विडेनमाथि दुई(एक गोलको जित हात पारेको थियो ।

आइतबारको खेल जसले जिते पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वेले एक(एक पटक विश्वकप जितेका छन् ।

इंग्ल्यान्ड १३ महिनाको अन्तरमा दोस्रो ठूलो उपाधि जित्ने लक्ष्यमा छ । सरिना भिगमनको टोली गत वर्ष घरेलु मैदानमा युरोपियन च्याम्पियन बनेको थियो । कप्तान मिली ब्राइटले विश्वकप जित्न जीवनकै उत्कृष्ट खेल खेल्नुपर्ने प्रतिकृया दिएकी छन् । उनको टिम ५७ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्न चाहन्छ ।

सन् १९६६ मा पुरुष टिमले विश्वकप जितेयता इङलिस सिनियर टिमले पहिलो पटक विश्वकप फाइनल खेल्न लागेको हो । समूह चरणमा तीन गोल र तीन एसिस्ट गरेकी लअरेन्स जेम्सको पुनरागमनले इङल्यान्ड उत्साहित छ । अन्तिम १६ मा नाइजेरियाविरुद्ध रातो कार्ड पाएपछि युवा खेलाडी जेम्समाथि दुई खेलको प्रतिबन्ध लागेको थियो ।

भिगमन दुई फरक देशलाई विश्वकप फाइनल पुर्याउने पहिलो प्रशिक्षक हुन् । चार वर्षअघि उनको देश नेदरल्यान्ड्स अमेरिकासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

सन् २०१५ मा डेब्यु गरेको स्पेन तेस्रो सहभागितामा फाइनल पुग्न सफल भएको हो । प्रशिक्षक होर्गे भिल्डालाई पनि इतिहास रच्ने अवसर छ । विश्वकपअघि राष्ट्रिय टिमका १५ खेलाडीले भिल्डालाई हटाउन माग गर्दै विद्रोह गरेका थिए ।

त्यसका बाबजुत फुटबल संघको साथका कारण जिम्मेवारीमै रहेका भिल्डाको टिम र इङल्यान्ड विश्वकपमा पहिलो पटक आमने सामने हुँदैछन् । पछिल्लो पटक २०२२ को युरो क्वाटरफाइनलमा भेट हुँदा इङल्यान्ड दुई एकले विजयी भएको थियो ।

प्रतिक्रिया