आइतबार, चैत २९, २०८२

१२.९३ अंक घटेर २००० भन्दा तल ओर्लियो नेप्से

मेरोन्यूज २०८० भदौ ४ गते १५:३३

काठमाडौँ । साढे २ महिनापछि नेप्से परिसूचक २००० बिन्दुभन्दा तल ओर्लिएको छ । सोमबार नेप्से १२.९३ अंक घटेर १९९८.२८ विन्दुमा झरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार २२ अंकले घटेको नेप्से सोमबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो । यस अघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल बन्द भएको थियो। आज पुनः दुई हजारभन्दा तल झरेको हो ।

सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.५० अंक, फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।

आज २७२ स्टकको ३९ हजार ४२५ पटकको कारोबारमा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भए ।

नेप्से ओरालो लागे पनि आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९९ प्रतिशत घटेको छ। त्यसैगरी हिमालयन पावर पार्टनर, भुगोल इनर्जी, बलेफी हाइड्रोपावर लगायतका स्टकहरुको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको यस दिन ८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो । आइएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटलको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भयो ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया