बुधबार, पुष २, २०८२

बैतडीमा घटेन बालविवाह

मेरोन्यूज २०८० भदौ २८ गते २०:०५

बैतडी । बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

आर्थिक वर्ष २०७७।७८ मा चार सय १५, आवमा २०७८।७९ मा तीन सय ८७ र गत आवमा तीन सय २३ किशोरीले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । उनका अनुसार यो तथ्यांक हेर्दा पनि यहाँ बालविवाह हुने क्रम नरोकिएको प्रष्ट हुन्छ ।

गर्भ जाँच गराउन आउँदा किशोरीको उमेर २० वर्ष कम भए पनि २० वर्ष पुगेको बताउने गरेकाले तथ्यांकमा कम देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । उमेर नपुग्दै बिहे गर्ने र २० वर्षमुनि आमा बन्दा ज्यान नै जोखिममा पर्ने सम्भावना बढी हुने स्वास्थ्यकर्मीको भनाइ थियो ।

स्थानीय तह तथा विभिन्न सरकारी गैरसरकारी संघसस्थाले प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि बालविवाह हुने क्रम नरोकिएको श्रीकोट स्वास्थ्यचौकीकी अनमी सरस्वती भट्टले बताइन् ।

बीस वर्ष नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता नपाउने भन्दै उनले पछिल्लो समय घरपरिवारको दबाबमा गरिने विवाहमा केही कमी आए पनि भागी विवाहले बाल न्यूनीकरणमा चुनौती थपिएको बताइन् । ‘कम उमेरमा गरिएको विवाहले कानुनी मान्यता पाउँदैन भने स्वास्थ्यका हिसाबमा पनि जोखिम हुने गरेको छ । किशोरावस्थामा सही निर्णय लिन नसक्दा बालविवाहमा कमी नआएको हो,’ अनमी भट्टले भनिन् ।

नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने नीति लिएको जनाउँदै उनले सोही नीतिअनुसार कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार सरकारको नीतिअनुसार जिल्लामा अझै पनि बालविवाह न्यूनीकरण हुनसकेको छैन ।

शारीरिक र मानसिकरूपमा २० वर्षमाथि मात्रै परिपक्व हुने भन्दै प्रमुख भट्टले त्यो भन्दा मुनि बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरा हुने बताए ।

नेपालको कानुनले २० वर्षमुनि गरेको विवाहलाई स्वतः बदर हुने व्यवस्था गरेको छ भने तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ ।

प्रतिक्रिया