बिहीबार, वैशाख ३, २०८३

तीजका गीतमा वैदेशिक रोजगारीका पिडा

मेरोन्यूज २०८० असोज १ गते १२:३१

भरतपुर(चितवन) । ‘घरमा एक्लै छाडेर बुढा बाबा आमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरु आइतबार यो गीत गाउँदै नाचिरहेका थिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनीहरुले गाएको यो गीतले नेपालको पछिल्लो वास्तविकतालाई चित्रण गरेको थियो ।

पछिल्लो समय गाउँघरमा विदेश गएका छोराछोरीको सम्झनामा तीज गित गाउने गरेको सुनिन्छ । पहिले पहिले गित मार्फत सासु बहुारीका वेदना पोख्ने महिलाहरुले अहिले छोरा–छोरी र आफन्त विदेशिएको कुरा गितमार्फत प्रस्तुत गर्ने गरेका छन् ।

‘न त कुनै कलकारखाना न त कुनै रोजगार
युवा जति विदेश हिँडे के हो सरकार’

महिलाहरुले विदेशिनुको कारण यसरी गीतमार्फत प्रस्तुत गरे । उनीहरुले सरकारलाई प्रश्न गर्दै युवा विदेश जाँदाको पिडा घर परिवार र समुदायलाई हुने गरेको सुनाए । देशका कलकारखाना बन्द हुँदा युवा विदेश पलायन हुनुपरेको महिलाहरुको गीतमा उल्लेख थियो ।

भरतपुर–११ की सुशिला सापकोटा आफ्नो टोलछिमेकमा भएका गतिविधिलाई गीतमार्फत प्रस्तुत गरिएको बताए । उनले भनिन्, “दिदीबहिनी जम्मा भएर यसरी भाका मिलाएर गाउँदाको आनन्द नै बेग्लै छ, यसले मनका पिर व्यथा पोख्न र साटासाट गर्न सहयोग पु¥याउँछ ।” उनले भाका मिलाएर गाउँदा नाच्दा आफ्नो सृजनात्मक क्षमतासमेत बढ्ने बताउनुभयो । आफुहरुले गाएको गीत नेपाली समाजको साझा समस्या भएको उहाँको भनाइ छ ।

‘दुःख सुःख गरेर बाह्र क्लास पढाइयो
कलिलो उमेरमा प्लेन चढाइयो’

अहिले कक्षा १२ पास नहुँदै कलिलो उमेरमा युवायुवती विदेशीने गरेको तितो अनुभव हाम्रो समाजमा छ । भरतपुर–१० की सविता अधिकारी वैदेशिक रोजगारीले पारिवारिक रुपमा बिछोड गराएको भन्दै हरेक घर परिवार समस्यामा रहेको बताउँछिन् । उनले राज्यले युवाहरुलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै यस्तै अवस्था रहिरहे देश युवा बिहिन हुने बताइन् ।

‘एउटा छोरा एउटा छोरी सानो सुखी परिवार
पकाउनै मन लाग्दैन मिठो परिकार’

धेरै घरपरिवारमा सबै सदस्य नहुँदा चाडपर्व पहिलेजस्तो रमाइलो नभएको महिलाहरुको अनुभव छ । चितवनको रत्ननगर नगरपालिका–८ की सिता पौडेल दिदी बहिनीहरु विदेश हुँदा पहिलेजस्तो रमाइलो हुन छाडेको बताउँछिन् । उनले भनिन्, “पहिले घरैभरी मान्छे हुन्थे, चाडपर्व आउना साथ मन खुसी हुन्थ्यो, अहिले त्यो अवस्था छैन ।” देशमा सुशासन कायम गरेर सबै परिवारसँगै हुने वातावरण बनाउनुपर्ने उनी बताउँछिन् ।

‘उच्च शिक्षा हासिल गरी नाम तिम्ले कमाउ
नेपालमा केही गर्ने लक्ष्य बोकी आउ’

तीजका गीतमार्फत महिलाहरुले विदेश गएपछि उच्च शिक्षा अध्ययन गरेर नेपालमै फर्कन सुझाव दिन्छन् । महिलाहरुले वैदेशिक रोजगारीको पिडासँगै बढ्दो महङ्गीले घरव्यवहार चलाउनेलाई समस्या परेको गीत मार्फत प्रस्तुत गरे ।

‘महङगीले आकाश छोयो यति मन रुँदैन
हजार लेर बजार गयो एक छाक हुँदैन’

पछिल्लो सयम ‘साउण्ड सिस्टम’ प्रयोग गरेर तीजका गित गाउने प्रचलन रहिररेका बेला कतिपय ठाउँमा महिलाहरु आफ्नो संस्कार संस्कृति संरक्षणमा निरन्तर लागिरहेका छन् । उनीहरु भड्किलो तरिकाले नाचगान गर्नेभन्दा पनि आफ्नै समाजका भोगाइ गीतमार्फत प्रस्तुत गरिरहेका छन् । शिक्षाविद् रमाकान्त सापकोटा तीजका गीतमा सधै समाजको यथार्थ झल्कने गरेको बताउँछिन् ।

“कुनैबेला श्रीमान मरेपछि सती जाने परम्परा रहेको समाजमा त्यही खालको गीत गाइने गरेको थियो”, उनले भनिन्, “देउरानी, जेठानी र सासु बुहारीका कथा हुँदै अहिले वैदेशिक रोजगारीका कुरासम्म तीजका गीतमा आउने गरेका छन् ।” उनले महिलाहरुले सधै सामाजिक मुद्धा उठाउने गरेको भन्दै त्यसले समाजको यथार्थ चित्रण गर्ने गरेको अनुभव रहेको सुनाइन् ।
“देशमा राजनीतिक परिवर्तन भएपछि सामाजिक रुपमा पनि ठूलो परिवर्तनको अपेक्षा नागरिकमा थियो, त्यो परिवर्तन नदेखिएपछि युवापुस्ता विदेश लागे, यहाँ बस्नेहरुले विछोडको गीत गाउनु स्वभाविक हो”, उनले भनिन् । भ्रष्टाचार र समाजको व्यतिथिका विरुद्ध तीज गीतमार्फत महिलाहरुले सधै आवाज उठाउनुपर्ने सापकोटा बताउँछन् ।

प्रतिक्रिया