कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन

पर्वत । निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन् ।
असार १० गतेभित्र गर्नुपर्ने नगरपालिकाको सभा असोज पहिलो सातासम्म पनि हुनसकेको छैन । सभाबाट बजेट पारित नहुँदा नगरभित्र रहेका १४ वटै वडाका स्वास्थ्य संस्थामा औषधि खरिद गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार नगरभित्र रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र गरी १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् ।
ती स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामीले औषधि नपाएर रित्तै हात फर्कनुपरेको छ । सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने औषधि पनि सेवाग्राहीले निजी क्लिनिकमा पुगेर महँगो मूल्यमा खरिद गर्ने गरेको कुश्मा नगरपालिका–१२ ठूली पोखरीका अहेब पठी धामीले बताए ।
स्वास्थ्य संस्थाबाट २८ किसिमका औषधि निःशुल्क पाउने व्यवस्था सरकारले गरेको शाखा प्रमुख शर्माले बताए । उनका अनुसार गत आर्थिक वर्षमा खरिद गरेको औषधि सकिएको छ । उनले सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्य औजार नभएको गुनासो आएपनि पठाउन नसकिएको बताए ।
“नगरसभा नभएका कारण स्वास्थ्य मन्त्रालयले अनुदानमा पठाएको बजेटबाट औषधि खरिद गर्न पाइएको छैन । नगरसभा भएर पालिकाले दररेट स्वीकृति दिएपछि मात्रै खरिद प्रक्रिया अगाडि बढाउने हो”, शर्माले भने, “अहिले वर्षाको समय छ । गाउँमा भाइरल ज्वरो, आँखा पाक्नेलगायत रोग फैलिँदा औषधि दिन सकिएको छैन ।”
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार नगरसभा अवरुद्ध हुँदा सुरक्षित मातृत्व तथा सुत्केरी, स्वास्थ्य शिक्षा, महामारीविरुद्धको कार्यक्रम, महिला स्वास्थ्य स्वयमंसेविकालगायत २० प्रकारका महत्वपूर्ण स्वास्थ्य कार्यक्रम ठप्प बनेका छन् ।
स्वास्थ्य क्षेत्रमा केन्द्रबाट आउनुपर्ने अनुदान रकम तलबभत्ता बापतको रू चार करोड ५० लाख र स्वास्थ्य कार्यक्रमबापतको रू तीन करोड रकम आइसकेको उनले जानकारी दिए । रकम आइसके पनि नगरसभा हुन नसक्दा कुनै काम गर्न नसकिएको उनको भनाई थियो ।
नगर स्वास्थ्य शाखाका अनुसार जिल्ला अस्पतालबाहेक चार स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइन्छ । ठूली पोखरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख भीमकुमारी शर्माले सुत्केरीले पाउनुपर्ने रकम आफूले खल्तीबाट दिने गरेको बताए ।
आर्थर स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रकान्त गौतमले ज्वरो, रुघाखोकीका कारण बिरामीको चाप बढ्दै गएको बताउँदै औषधि अभाव हुनाले बिरामीलाई निःशुल्क दिइने औषधि पनि दिन नसकिएको जानकारी दिनुभयो । उनका अनुसार स्वास्थ्य चौकीमा सामान्य रोगको औषधिसमेत छैन ।
स्वास्थ्य क्षेत्र मात्र नभइ कृषि, शिक्षा, महिला तथा बालबालिकालगायत अन्य विकास निर्माणका कामसमेत प्रभावित बनेको वडाध्यक्ष तेजप्रसाद शर्माले बताए । सुत्केरीले यातायात खर्चबापत पाउनुपर्ने रू दुई हजार पछि नगरपालिकाबाट लिने गरी खल्तीबाट भुक्तानी गरिरहेको उनले जानकारी दिए ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया