बुधबार, माघ २८, २०८२

गठबन्धनले न्यायापालिकालाई स्वतन्त्र रहन दिएन, विभागजस्तो बनाउन खोज्यो : ओली

मेरोन्यूज २०८० असोज १६ गते १५:२९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायापालिकालाई स्वतन्त्र रहन नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै ओलीले एमालेले न्यायपालिकालाई गठबन्धनको विभाग बन्न नदिने जिकिर गरे ।

‘तपाईहरुले न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा’, ओलीले भने, ‘हामी न्यायालयलाई स्वतन्त्र सम्मानित मर्यादित न्यायापालिकाको रुपमा राख्न चाहन्छौं तपाईंहरुको विभाग बनाउन दिँदैनौं ।’

जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र गत निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्ति न्यायाधीश नियुक्त भएको ओलीको भनाइ थियो । त्यस्तै ओलीले आफूविरुद्धको संसद् विघटनको मुद्दामा बहस गर्ने वकिललाई न्यायाधीश बनाएको आरोपसमेत लगाउन भ्याए ।

‘मेरा विरुद्धको मुद्दामा उफ्री उफ्री बहस गर्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनुपर्ने रहेछ । एक वर्ष हुन आँट्यो निर्वाचनको गुन अझै सम्झिरहेको रहेछ’, ओलीले भने ।

सत्तारुढ गठबन्धनले चाहेजस्तो आदेश नगर्ने न्यायाधीशलाई रोल्पा रुकुम सरुवा गरिएको बताए । न्यायाधीश नियुक्ति र सरुवा न्यायप्रणालीमाथिको प्रहार र अदालतमाथि जनविश्वास कमजोर पार्ने प्रयास भएको बताउँदै ओलीले यो घटनालाई साधारण नियुक्ति र सरुवाको विषयको रुपमा लिन नसकिने उल्लेख गरे । ‘यो साधारण नियुक्ति र सरुवाको कुरा होइन, यो न्यायप्रणाली अदालतको स्वच्छता, मर्यादा र अदालतमाथिको जनविश्वाससँग जोडिएको छ’ ओलीले भने ।

सत्तारुढ गठबन्धनले सरकारमा छउन्जेलसम्म अनेक हत्कण्डा गरे पनि त्यसको जवाफ नेपाली जनतालाई दिनुपर्ने ओलीले बताए ।

प्रतिक्रिया