बुधबार, माघ २८, २०८२

‘फागुन एक’ को बिदाबारे ओलीलाई सरकारको जवाफ : एमाले सहभागी सरकारले गरेको निर्णय हो, परिवर्तन हुन्न

मेरोन्यूज २०८० असोज १७ गते १७:३६

काठमाडौं । फागुन एक गते सार्वजनिक बिदा दिने निर्णय एमाले सरकारमा सहभागी भएको बेला गरिएको सरकारले प्रष्टीकरण दिएको छ । कुनै एक नेताले भन्दैमा त्यो बिदा दिने निर्णय खारेज नहुने पनि सरकारले बताएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जनयुद्ध दिवस (फागुन १)मा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकको निर्णय भएकाले कुनै एक नेताले भन्दैमा परिवर्तन नहुने बताएकी छन् ।

मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा मन्त्री शर्माले भनिन्, ‘यो क्याबिनेट डिसिजन हो । हिजो हामी नेकपा एमालेसँगै गठबन्धनमा थियौं । त्यतिबेलाको गठबन्धनको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर क्याबिनेटबाट पारित गरेको विषय हो । क्याबिनेटले पास गरेको विषय संसद्मा एकजना नेताले बोल्दैमा केही हुँदैन । क्याबिनेटले पारित गरिसकेपछि जनयुद्ध दिवस मनाएर जान्छ । जनयुद्ध दिवसको विषयमा उहाँले व्यक्त गरेको अभिव्यक्तिमा सरकारको सहमति छैन ।’

संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै त्यस दिन दिइएको बिदा खारेज नगरे कदम चाल्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा सरकारी प्रवक्ता शर्माको यस्तो भनाइ आएको हो ।

आजको व्यवस्था र अवस्था जनयुद्धकै जगमा बनेको दाबी मन्त्री शर्मालजे गरिन् । ‘जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हुँदैनथ्यौं । क्याबिनेटले डिसिजन गरेर सरकारको क्यालेण्डरमै समावेश भइसकेको विषयमा अनावश्यक ढंगले घृणा फैलाउनु उपयुक्त हुँदैन,’ मन्त्री शर्माले भनिन् ।

जनयुद्ध खास पार्टी र व्यक्तिको विषय नभएकाले सरकारले दिवसकै रुपमा मनाउने शर्माको भनाइ थियो ।

प्रतिक्रिया