सोमबार, माघ २६, २०८२

नेपाललाई माया गर्ने अस्ट्रेलियन युट्युबर, जो नेपाललाई कर्मथलो बनाउँन चाहन्छन्

नरेन्द्र रौले २०८० असोज २७ गते १४:२३

काठमाडौं । अस्ट्रेलियन युवाज्याक टोर भर्खर २४ वर्ष पाईला टेक्दैछन् । कलिलै उमेरमा उनको रहर भने आम युवाहरुको भन्दा फरक छ । मार्केटिङमा ब्याचलर्स गरेका ज्याक अस्ट्रेलियामा एक कर्पोरेट अफिसमा काम गर्थे । उनको मातहतमा ५ जना कर्मचारीहरु काम गर्थे । उनको तलब पनि लोभ लाग्दो थियो । वार्षिक ४० लाख रुपैंयाँ ।

तर, ज्याकको मन त्यतिमै अडेन । उनी त संसार घुम्न चाहन्थे । यात्रा गर्नकै लागि उनले ४० लाख रुपैंयाँको जागिर त्यागिदिए । अनि सूरु भयो उनको संसार घुम्ने यात्रा । यी अस्ट्रेलियन युवा ज्याक टोरले आफ्नै नामको युट्युब खोलेका छन् । जसलाई संसारभरका ४० हजार भन्दा धेरैले उनको च्यानल सब्सक्राइब गरेका छन् । उनले आफ्नो युट्युबमा लेखेका छन्,- Quit my job to follow my dream, be right beside me as we travel the world together !
(मैले मेरो सपना पछ्याउँनका लागि मेरो जागिर छोडें । हामीसँगै संसार यात्रागर्दा मेरो साथमा रहनुहोस् ।)

ज्याकले हालसम्म ६ पटक नेपालको यात्रा गरिसकेका छन् । एक दर्जन बढी मुलुक घुमिसकेका उनलाई सबैभन्दा बढी नेपालले लोभ्याएको छ । आम नेपाली युवाहरुका लागि अस्ट्रेलिया एउटा सपनाको देश हो । आफ्नो सुन्दर भविष्यको खोजिमा लाखौं खर्च गरेर अस्ट्रेलिया जान मरिहत्ते गर्ने तमाम युवाहरु छन् । तर, एक अस्ट्रेलियन युवा ज्याक भने आफ्नो देश छोडेर नेपाललाई कर्मथलो बनाउँन चाहन्छन् । उनी नेपालको पर्यटन, कला, संस्कृतिलाई प्रवद्र्धन गर्न समर्पित भएर लागि परेका छन् ।

नेपालका बिभिन्न पर्यटकिय स्थल र ग्रामिण भेगहरुमा पुगेर उनले पर्यटन, कला, संस्कृति, जात्रा, खानपान र जीवनशैलीका भिडिओहरु उनले बनाईसकेका छन् । उनका भिडिओहरुले उल्लेख्य लोकप्रियता हासिल गरेका छन् । उनले बनाएका भिडिओहरुलाई संसाभर रुचाईएको छ । हाल युट्युबबाट उनले मासिक १ लाखरुपैंयाँ भन्दा बढी आम्दानी गरिरहेको बताउँछन् ।

नेपाली पहिरनमा सजिएर ज्याकले ग्रामिण भेगहरुमा पुगेर भिडिओ बनाईरहेका छन् । नेपालमा फर्पिङ र खोटाङ उनलाई एकदमै मन परेका स्थान हुन् । उनलाई मुस्ताङ पुग्न एकदमै रहर छ । सूरुमा नेपालमा टेकिङ गर्न, यहाँको संस्कृतिको अनुभब बटुल्न उनले नेपाल पाईलो टेकेका थिए । नेपाल आएपछि यहाँका हिमाल, संस्कृति र नेपालीहरुको मीठो आतिथ्ताले उनलाई लोभ्यायो । उनी नेपालमै घरजम गरेर बस्न चाहन्छन् । नेपालमा फार्महाउस पनि सञ्चालन गर्ने उनको धोको छ । ‘जागिर गर्दा जम्मा गरेको पैसाले म विश्व घुमिरहेको छु ।’ ज्याकले भने ‘नेपालका गाउघर घुम्न, नेपाली जीवनशैली बुझ्न एकदम मन पर्छ । दालभात र मम एकदमै मनप¥यो ।’

वर्षमा १ सय ५० दिन मात्र उनले भिसा पाउने गरेका छन् । एक वर्षकै भिसा पाउँने हो भने अझ नेपालको पर्यटन, संस्कृति र जीवनशैलीलाई प्रचारप्रसार प्रवद्र्धन गर्न लागि पर्ने उनी बताउँछन् । नेपाली भाषा अलि अलि बोल्ने उनले छिटै नै नेपाली भाषाको युट्युब च्यानल सूरु गर्ने तयारी पनि गरिरहेका छन् । विश्वका एक दर्जन बढी मुलुकको यात्रा गरिसकेका उनले भुटान, जापान सरकारको निमन्त्रणामा ती देशहरु घुमिसकेका छन् । बिभिन्न देशले घुम्ने निम्तो दिएपनि उनले नेपाललाई विशेष माया गर्छन् । आखिर उनको मन नेपालमै बसेको छ ।

प्रतिक्रिया