बिहीबार, चैत १९, २०८२

भारत न्युजिल्यान्डलाई हराउँदै विश्वकपको फाइनलमा

मेरोन्यूज २०८० कार्तिक ३० गते ६:५०

काठमाडौँ । आयोजक भारत आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार मुम्बईमा न्युजिल्यान्डमाथि ७० रनको जित निकाल्दै भारतले आफ्नो स्थान कायम गरेको हो । भारतले अब उपाधिका लागि आगामी आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिका मध्ये एक टिमसँग खेल्नेछ।

भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ‌ओभरमा ३२७ रनमा अलआउट भयो।

न्युजिल्यान्डका लागि ड्यारल मिचेलले १३४ रन र कप्तान केन विलियमसनले ६९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङमा भारतका मोहमद सामीले ७ विकेट लिए। उनले ९.५ ‌ओभरमा ५७ रन खर्चिए।

त्यसअघि बुधबार मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो।

भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडे। उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन्।

अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन्। उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।

भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरे। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे।

ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे। बलिङमा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए।

भारत सन् २०११ पछि पहिलोपटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो।

प्रतिक्रिया