शनिबार, चैत २८, २०८२

बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री

मेरोन्यूज २०८० मंसिर २९ गते १४:४५

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

“सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन”, डा महतले भने, “मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा अधिकांशमा छ ।” अहिले मानिसमा बीमा गर्नुका फाइदाका बारेमा जानकारी दिँदै बीमा सचेतना जगाउनु आवश्यकता रहेको उनको भनाइ थियो ।

मन्त्री डा महतले भने, “जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ ।” जीवनमा हरेकलाई समस्या आई पर्नसक्ने भएकाले अहिले केही योगदान दिएर भोलि आइ पर्नसक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने उनले बताए ।

“जसले बीमा गरिसकेको छ, आपत पर्दा बीमा कम्पनीहरूले बीमाबापतको रकम दिन आनाकानी गर्नु हुँदैन । यसले गर्दा सम्भावित बिमितमा सकारात्मक सन्देश जान्छ र उनीहरू पनि बीमा गर्न तयार हुन्छन्”, मन्त्री डा महतले भने। बीमामा जोडिएका सबै र नियमक निकाय तथा प्राधिकरणले बीमा विस्तारमा भएका अवरोध हटाउँदै काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए। यस सन्दर्भमा देखिएका विद्यमान समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने मन्त्री डा महतको भनाइ थियो । उनले बीमा कम्पनीले व्यवसायिकतालाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताए ।

“बीमा कम्पनीले रकम लिने बेला विज्ञापन गर्ने, स्रोत जम्मा गर्ने र दिनुपर्यो भने अनेकौँ झमेला र बहाना झिक्ने गरेको सुन्निछ । यस्तो अस्थामा बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण हुन्छ । बीमा कम्पनी र बिमित व्यक्तिको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ”, मन्त्री डा महतले भने, “बीमा सर्भेयरले कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यसरी काम गर्न सकियो भने बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका अर्थपूर्ण मानिन्छ ।”

प्रतिक्रिया