मंगलबार, चैत २४, २०८२

भरतपुर महानगरले ल्यायो ९ करोड बढीको पूरक बजेट

मेरोन्यूज २०८० पुष २३ गते ७:३०

चितवन । भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ। आज सम्पन्न चौधौं नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो।

Advertisement
nepal life insurencenepal life insurence

उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताए। 

चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए।

बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत स्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाउन पूरक बजेट ल्याइएको उनले बताए।

महानगरले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो। पूँजीगत खर्चतर्फ विनियोजित तीन अर्ब ७२ करोड ६५ लाख ६ हजारमा पुस मसान्तसम्म ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ।

महानगरले यस वर्ष एक अर्ब ७५ करोड आन्तरिक आम्दानी प्रक्षेपण गरेकामा पुस १८ गतेसम्म ५३ करोड तीन लाख सङ्कलन भएको छ। महानगर प्रमुख रेनु दाहालले पूरक बजेटबाट समपूरक साझेदारी कोषका लागि विद्युत् प्राधिकरणसँग ‘स्मार्ट लाइट’ साझेदारी कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन्। 

उनले सहरी सौन्दर्यकरण, चोक सुधार कार्यक्रम, मानव सेवा आश्रम पूर्वाधार निर्माण, दलित विद्यार्थी छात्रवृत्तिलगायत कार्यक्रममा पूरक बजेट राखिएको जानकारी दिइन्।

प्रतिक्रिया