मंगलबार, चैत १७, २०८२

सेती अस्पतालद्वारा सिकलसेलको निःशुल्क परीक्षण शिविर

मेरोन्यूज २०८० माघ ७ गते ६:२१

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमिया तथा थाइलेसिमिया निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अस्पतालले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आजदेखि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको हो । विशेष गरी थारु समुदायमा देखिने यो रोग बढी प्रभावित क्षेत्र आँकलन गरेर शिविर सञ्चालन गरिएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डा शेरबहादुर कमरले बताए ।

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने र यसबाट थारु समुदाय बढी प्रभावित भएको उनले बताए । “सिकलसेल एनिमिया वंशाणुगत रोग हो”, उनले भने, “सिकलसेल आमाबुवा दुवैमा छ भने उहाँहरुबाट जन्मिएका सबै सन्तानमा हुने सम्भावना बढी हुन्छ ।”

“यो रोग ९९ प्रतिशत थारु समुदायमा देखिने गरेको छ”, उनले भने, “थारु समुदायका शङ्का लागेका सबै उमेर समूहकाले शिविरमा रगत परीक्षण गर्न सक्नुहुन्छ । अन्य समुदायका मान्छेमा पनि शङ्का लागेको छ भने परीक्षण गर्न सक्नुहुन्छ ।”

सेती अस्पतालमा पनि हाल सिकलसेलको निःशुल्क परीक्षण हुने गरेको उनले बताए । अस्पतालमा हालसम्म नौ सय १४ जना सिकलसेल एनिमियाका बिरामी दर्ता भएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गौरीदत्त जोशीले जानकारी दिए । उनले भन, “आर्थिक वर्ष २०७१÷७२ बाट यो कार्यक्रम सुरु भएको हो । हालसम्म कैलाली र कञ्चनपुरका गरी नौ सय १४ बिरामी दर्ता भएका छन् ।”

दर्ता भएका सबै बिरामीले औषधि सेवन गरिरहेको उहाँको भनाइ छ । उनले भने ,“औषधि फरक–फरक हुन्छ । दुखाइको औषधि सबैले सेवन गरिरहेका हुन्छन् ।”

थारु समुदायलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। उनले भने,“यो थारु समुदायमा बढी देखिने रोग हो । जो अस्पतालसम्म आउन नसक्ने छन्, उनीहरुको समुदायस्तरमै गएर जाँच गर्ने हाम्रो योजना हो ।”

आगामी दिनमा जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि यसरी नै शिविर सञ्चालन गरिने उनको भनाइ थियो । प्रदेश सरकारको सहयोग तथा धनगढी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा २ दिने शिविर सञ्चालन गरिएको अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार शिविर माघ ७ गते ९आइतबार० वडा नं। १७ धुर्जन्नामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया