बेँसीसहर-चामे सडक दुई दिन बन्द रहने

लमजुङ । पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ ।
सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो ।
सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्ने हुँदा उक्त समयसम्मका लागि यातायात पूर्णरुपमा थप्प हुने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचना जारी गरेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताए । सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भए पनि वैकल्पिक सडक नहुँदा यस सडक नै बन्द गर्नुपर्ने भएको उनको भनाइ छ ।
नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले दानाक्युमा सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम धेरै रहेको जानकारी दिए। उनले विशेष गरी आफ्ना पालिकाका नागरिक र मनाङवासीलाई सो सडकका कारण धेरै दुःख भइरहे पनि समाधान हुन नसकेको बताए । उक्त स्थानमा रहेको काठेपुल २०७७ असारमा आएको बाढीले बगाएपछि पुनः पटकपटक काठेपुल राखे पनि जोखिम हुँदै आएपछि २०७८ फागुनदेखि चैत ५ गतेसम्म बेँसीसहर चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो । यतिबेला उक्त कल्भर्ट राखिएको वरिपरि तथा ढलान गरिएको भागमा ढुङ्गा खसेर भत्किनुका साथै सडक जीर्ण भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया