शनिबार, चैत २८, २०८२

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता

मेरोन्यूज २०८० चैत १३ गते २१:५४
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ भेट बेइजिङ(चीन), १३ चैत : जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच सोमबार बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ताका क्रममा । तस्बिर : अशोक घिमिरे/रासस


बेइजिङ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बेइजिङस्थित स्टेट गेष्ट हाउसमा आज अपराह्न भएको भेटवार्तामा उनिहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा उनिहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाएर लैजानेबारेमा छलफल भएको थियो । प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको छ ।

भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा (भिषा)शुल्क फ्रि गर्न चीन सकारात्मक भएको जानकारी दिँदै त्यसलाई चाँडै नै कार्यान्वयनमा लैजाने विश्वास दिलाएका थिए । नेपालले पनि केही समयदेखि चिनियाँ नागरिकलाई भिषा शुल्क फ्रि गरिरहेको छ ।

उनिहरुबीच नेपाल–चीन अन्तरदेशीय प्रसारण निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको छ ।

संयुक्त सीमा निरीक्षण टोलीले काम थाल्नेलगायतका विषयमा पनि दुवै पक्षबीच समझदारी भएको छ । दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ ।

भेटमा चिनियाँ विदेशमन्त्री वाङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको सरहाना गर्दै आगामी दिनमा पनि नेपालको प्रतिबद्धता अटुट रहने विश्वास व्यक्त गरे । सो क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका थिए । नेपालको निमन्त्रणालाई स्वीकार गर्दै उनले यही वर्ष नै नेपाल भ्रमण गर्ने विश्वास दिलाएका थिए।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि परराष्ट्रमन्त्री श्रेष्ठ र विदेशमन्त्री वाङबीच झण्डै एक घन्टा ‘वान टु वान’ वार्ता भएको थियो । दोस्रो पटक परराष्ट्रमन्त्रीमा नियुक्त भएसँगै मन्त्री श्रेष्ठको यो पहिलो चीन भ्रमण हो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए।

चिनियाँ प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ, विदेश मन्त्रालय उपमन्त्री र प्रवक्ता र वरिष्ठ अधिकारीको सहभागी थिए ।

उपप्रधानमन्त्री वाङ चिनियाँ विदेशमन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा आउनुभएको हो । उनले आजै बेइजिङस्थित नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए ।

सोमबार बेइजिङ आइपुगेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन तथा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया