बुधबार, चैत २५, २०८२

प्रतिनिधिसभा बैठकमा चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग

मेरोन्यूज २०८० चैत २० गते १३:२२

काठमाडौँ ः प्रतिनिधिसभाको आजको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको छ । बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

उनले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रानी महलको संरक्षण गर्न माग गरे।

एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरे । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन भई सेवा अवरुद्ध हुनु दुर्भाग्य भएकाले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। कांग्रेस सांसद बद्री पाण्डेले पहिरोबाट बाजुराबासीलाई प्रभावाति गराएको र मार्तडीलगायतका क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बागलुड गोलकोटबासीलाई सदरमुकामा पुगेर सेवा लिन गाह्रो भएकाले त्यहाँ प्रशासनिक कार्यालय स्थापना गर्न माग गरे । शून्य समयमा सांसदहरु धवलशमशेर जबरा, वासुदेव घिमिरे, विन्ध्यवासिनी कङ्साकार, तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दुर्गा राई, प्रदीप यादव, प्रमु हजारा, विनिता कठायत, ध्रुवबहादुर प्रधान, नागिना यादव, निर्मला कोइराला, नारायणप्रसाद आचार्य, निशा डाँगी, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम, प्रतीक्षा मुखिया, दिक्पालकुमारी शाही, दीपक गिरी, दीपा शर्मा, डा तोसिमा कार्कीलगायतले समसामयिक विषय उठान गरे थिए।

प्रतिक्रिया