दृष्टिविहीनलाई बाटो देखाउने साथी बन्दै प्रविधि

कास्की । पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले बताइन्। अब त्यो समस्याबाट उनी मुक्त भएकि छिन् ।
“पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिँड्ने बानी पर्यो । त्यसरी हिँड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो ‘क्रस’ गराइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो”, उनले भनीन्, “प्रविधि हाम्रा लागि पनि बनेको छ । हामीले चलाउन जान्ने हो भने समस्या आफैँ समाधान हुन्छ। प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा सिकेको सीपले हामीलाई सहज भएको छ ।”
रीताजस्तै अरु दृष्टिविहीन पनि अबका दिनमा अरुको सहाराबिना हिँडडुल गर्नेमा विश्वस्त छिन् । उनीहरूका लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की नेत्रहीन सङ्घले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम दिएको छ ।
तालिममा भाग लिनुभएकी दृष्टिविहीन रोजिना घिमिरेले पनि तालिम निकै फलदायी भएको बताइन् । “हामीलाई आवश्यकताले सञ्जाल चिनाएको छ । सञ्जालले सञ्चार चिनाएको छ र सञ्चारले संसार चिनाएको छ”, रोजिनाले भनीन्, “प्रविधिले अपाङ्गता व्यक्तिलाई सहज बनाएको छ हामीलाई भने असम्भवलाई सम्भव बनाएको छ । दृष्टिविहीनलाई यसले दुष्टियुक्त बनाउन मद्दत गरेको छ ।”
‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताइन् । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उनले बताइन् ।
तालिमका प्रशिक्षक तथा राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकीका अध्यक्ष खोमराज शर्माले तालिममा दृष्टिविहीनलाई ‘गुगल म्याप’सँगै ‘ई–सेवा, इन्ड्राइभ, पठाओ’जस्ता ‘एप्लिकेसन’ चलाउन पनि सिकाइएको जानकारी दिइन् । यसले उनीहरूको दैनिकीमा सहयोग पुग्ने उनले सुनाइन् ।
प्रविधिको अधिकतम प्रयोग गर्नसके दृष्टिविहीनतालाई अवसरका रूपमा लिन सकिने उनले बताइन् । “प्रविधिमा साँच्चै हाम्रो पहुँच हुने हो भने हामीले हीनतावोध गर्नुपर्दैन । हामीले गर्न नसक्ने भन्ने विषय सबै विगत बनिदिन्छ”, प्रशिक्षक शर्माले भनीा्, “तर चुनौती भनेको यसको समाधान न हाम्रो सरकारलाई थाहा छ न ‘एप्लिकेसन डेभलपर’लाई थाहा छ । यो चुनौती चिर्न स्थानीय, प्रदेश र सङ्घ सरकारले लगानी गर्न जरुरी छ ।”
राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय सदस्य पुष्पराज रिमालले प्रविधिले आफूहरूलाई सक्षम बनाएको बताए । “सामान्य रूपमा हेर्दा मोबाइल केही होइन तर सबैथोक हो”, उgले भने, “प्रविधिले हामीलाई सक्षम बनाएको छ । त्यसलाई हामीले चिन्नुपर्छ ।” सरकारले हरेक क्षेत्रमा हरेक नागरिकका लागि उपयुक्त प्रविधिमा लगानी गर्नुपर्ने उनको धारणा छ ।
कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सङ्घले दृष्टिविहीनका लागि विभिन्न कार्यक्रम र तालिम गरिहेको बताए । “हामीले नेपालमै पहिलोपटक सेतो छडी प्रयोग गरेर कसले राम्रोसँग हिँड्नसक्छ भनेर गमनशीलता प्रतियोगिता गर्यैँ। त्यसपछि सेतो छडी लिएर हिँड्न गमनशीलता तालिम पनि दियौँ”, अध्यक्ष सापकोटाले भने, “अब नयाँ ढङ्गले जाऊ भनेर अहिले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम आयोजना गरेका हौँ ।”
उनले अहिले पनि संविधानको मर्मअनुसार सबै ठाउँमा समावेशिता नभेटिएको बताए । ‘बी माई एआई’ प्रयोग गरेर दृष्टिविहीनले सबै विषय थाहा पाउने प्रविधिको विकास भइसक्दा पनि त्यसमा कसैको ध्यान नगएको अध्यक्ष सापकोटाको गुनासो थियो । यसका लागि राज्यले तालिम, साधन अनि पहुँचताको सुनिश्चितता गर्नुपर्ने उनले बताए । दृष्टिविहीनको हकअधिकारका लागि संस्थाले आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जाने उनले जानकारी दिए ।
कास्कीमा एक हजार पाँच सयको हाराहारीमा दृष्टिविहीन रहेको कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए । “कास्कीमा अध्ययन, रोजगारीका लागि अन्य जिल्लाबाट पनि आएका दृष्टिविहीन साथीहरू छन् । केही ग्रामीण क्षेत्रमा पनि छन्”, उनले भने, “सबै गरेर एक हजार पाँच सय जति छौँ । त्यसमा हाम्रो सङ्घमा एक सय ५० जना आबद्ध छौँ ।” प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा २४ जना सहभागी भएका थिए ।















महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया