बुधबार, फागुन ६, २०८२

सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

मेरोन्यूज २०८१ वैशाख १७ गते १३:११

सिरहा। सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनाका आरोपी सोनावतीका ७२ वर्षीय श्रीमान् धनिकलाल यादव भने फरार छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन्।

खोजतलास गर्दै जाने क्रममा १४ गते राति साढे ११ बजेतिर रमेशको घरभन्दा उत्तरपट्टीसँगै रहेको छिमेकी धनिकलाल यादवको घरमा बालिकाको शव फेला परेको थियो।

छतमाथि जाने भर्‍याङको चौतरामा रहेको मुसुरको झङ्टाभित्र प्लाष्टिकको बोराभित्र रियाको लास लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डिएसपी सापकोटाले बताए।
 
करिब एक वर्षदेखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको प्रहरी अनु्सन्धानले देखाएको छ। सोही विषयमा रिसइबी साधेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेको प्रहरी अनुसन्धानले देखाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया