बुधबार, चैत १८, २०८२

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल

मेरोन्यूज २०८१ वैशाख २५ गते १२:५७

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनका क्रममा ताप्लेजुङ आउनुभएका महासचिव पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार निर्माणपछि कांग्रेसले संसद् अवरोध गर्नु दुःखदायी भएको बताए।

“नयाँ घटना कुनै केही भएका छैनन्, आफैँले प्रधानमन्त्रीका रुपमा प्रस्ताव राख्ने र त्यही व्यक्ति गृहमन्त्री भएपछि प्रतिशोध साँध्ने जुन प्रकारको नीति नेपाली कांग्रेसको रह्यो, त्यो अत्यन्त दुःखद् छ भन्ने मलाई लाग्छ”–पोखरेलले भने। गल्ती गर्ने व्यक्तिका बारेमा छानबिन हुनु, दण्डित हुनु स्वभाविक भए पनि जिम्मेवार एउटा पार्टीले एकै व्यक्तिलाई कहिले प्रधानमन्त्रीका रूपमा योग्य देख्ने र कहिले गृहमन्त्रीका लागि अयोग्य देख्ने चरित्र हुनु स्वाभाविक नभएको उनको टिप्पणी छ ।

यस्तै जनता समाजवादी पार्टीभित्रको विभाजनलाई उनले नयाँ समीकरणको रक्षाका लागि भएको विद्रोहका रूपमा टिप्पणी गरेका छन् । सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध सांसदहरूले स्वयम् विद्रोह गरेर समीकरणको रक्षाका लागि अघि बढ्ने प्रक्रिया सुरु भएको बताए। “यो समीकरणको रक्षाका लागि अगाडि बढ्ने प्रक्रिया सुरु भएको छ, जनता समाजवादी पार्टीका सात जना सांसदले नयाँ पार्टी खोल्ने भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको छ, र म ठान्दछु, त्यो सङ्ख्या अझै बढेर जान्छ” ।

लोकतन्त्रमा विधिसम्मत ढङ्गले भएका विभाजनलाई स्वीकार गर्नुपर्ने मान्यता आफूमा रहेको भन्दै उनले कानुनले दिएको अधिकारलाई प्रयोग गर्नु स्वभाविक मान्नुपर्ने बताए।

प्रतिक्रिया