शुक्रबार, चैत १३, २०८२

सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरियो : उपेन्द्र यादव

मेरोन्यूज २०८१ जेठ ९ गते १३:४७

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ ।’

अध्यक्ष यादवले नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु दुर्भाग्यपूर्ण भएको पनि बताएका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नुपर्दछ । आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहोर्‍याउन सरकारलाई सचेत गराइन्छ ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको विषयमा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

प्रतिक्रिया