मंगलबार, चैत १०, २०८२

काठमाडौंको नयाँ बसपार्कमा एकदिने आँखा शिविर सञ्चालन

मेरोन्यूज २०८१ जेठ १९ गते १४:१९

काठमाडौं। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोँगबु नयाँ बसपार्कमा एकदिने ‘निःशुल्क आँखा शिविर’ सञ्चालन गरिएको छ। काठमाडौं महानगरपालिका र समाज उत्थान महिला मञ्चले आज आयोजना गरेको उक्त शिविरमा अहिलेसम्म तीन सय ५१ जनाले सेवा लिएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

शिविरको उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले स्वास्थ्य नै धन भएकाले स्वस्थ भएर राज्य निर्माणमा योगदान गर्नुपर्ने धारणा राखे। उनले आफूलाई स्वास्थ राख्न हरेक व्यक्तिले बेलाबेलामा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गरे।

काठमाडौँ–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आम वडावासीलाई स्वस्थ राख्न यस्ता किसिमका स्वास्थ्य शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि वडाभित्र विभिन्न विधाका स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न समाज उत्थान महिला मञ्चले खेलेको भूमिका सराहनीय रहेको बताए। उनले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको भन्दै यसको वरपरको क्षेत्रलाई पनि सोहीअनुसार स्वच्छ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गरे। वातावरण स्वच्छ भए नागरिक स्वस्थ हुने उनको भनाइ छ।

मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले नयाँ बसपार्क क्षेत्रको विकृति अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। विसं २०७१ मा स्थापना भएको उक्त मञ्चले गोँगबु क्षेत्रमा विभिन्न सामाजिक काम सञ्चालन गर्दै आइरहेको उपाध्यक्ष तारा नेपालले जानकारी दिए। उनका अनुसार शिविर आज दिनभरि सञ्चालन हुनेछ।

शिविरमा सहभागी वक्ताले स्वास्थ नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताएका छन्। सहभागी मानिस स्वस्थ रहेमात्र देशको विकासमा योगदान दिनसक्ने भन्दै स्वस्थ जीवनयापनमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

प्रतिक्रिया