मंगलबार, चैत १०, २०८२

पुँजीगततर्फ ७३ प्रतिशत खर्च

मेरोन्यूज २०८१ असार २६ गते १२:३८

चितवन । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सङ्घबाट पुँजीगत खर्चका लागि रु पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।

चालु खर्चका लागि विनियोजित रकम रु १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार तीन सय १३ मध्ये रु ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० खर्च भएको शर्माले बताए । उनका अनुसार जिल्लामा सङ्घीय सरकारबाट प्राप्त रु १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ मध्ये रु १६ अर्ब २४ करोड छ लाख १३ हजार छ सय ५४ खर्च भएको छ । विनियोजित कुल बजेटको ८५ दशमलव ९९ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।

प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३ दशमलव ६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्चतर्फको ७८ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ७५ दशमलव ८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ रु एक अर्ब ६१ करोड ९४ लाख ३० हजार चार सय ८७ विनियोजन गरेको थियो ।

पुँजीगततर्फ रु तीन अर्ब ३६ करोड १९ लाख २८ हजार विनियोजन भएकामा रु दुई अर्ब ४५ करोड ९२ लाख ३१ हजार सात सय १० खर्च भएको शर्माले जानकारी दिए । जिल्लामा प्रदेशबाट रु चार अर्ब ९८ करोड १३ लाख ५८ हजार चार सय ८७ विनियोजित भएकामा रु तीन अर्ब ८१ करोड ८१ लाख ६९ हजार छ सय २५ खर्च भएको छ । जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पुँजीगततर्फको खर्च बढेको उनले जानकारी दिए ।

प्रतिक्रिया