श्रमिक बालबालिकाको उद्धार गरेर रेखदेख गर्दैछ ईस्थर बेन्जामिन्स

काठमाडौँ । बालबालिकाको मानसिक विकासको लागि अभिभावकले दिनुपर्ने मार्ग दिन नसक्दा असन्तुलित भोजनबाट हुने कुपोषणबाट पीडित हुने बालबालिका भन्दा पनि ठूलो मानसिक दुष्चक्रमा फस्छन् । यसको प्रतिफल कल्पना गरेभन्दा ठूलो, अपत्यारिलो दुर्घटना हुन सक्छ ।
प्रविधिको विकास, समयको गतिशीलता, सहरीकरण, विश्वव्यापीकरण सँगसँगै बालबालिकाको हुर्काइ पनि जटिल बन्दै गइरहेको छ ।
बालबालिकाले जेजस्तो व्यवहार गरे पनि निःसर्त स्नेह व्यक्त गर्नुपर्छ र बालबालिकाको भावनालाई सम्मान गर्नुपर्छ । यस्तो व्यवहार गर्नाले बालबालिकाले सधैँ अभिभावकलाई आफ्नो नजिक ठान्छन् ।
यसै सन्दर्भमा सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय मनिस तामाङ (नाम परिवर्तन)लाई मयुर यातायातको बसबाट काठमाडौँ महानगरपालिकाले उद्धार गरेको थियो ।
महानगरले बसमा सहचालकको काम गर्दै आएका मनिसलाई उद्धारपछि घर फर्काउन खोज्दा नमानेपछि ईस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयका लागि पठाएको छ ।
मनिस सहचालकको रुपमा काम गरिरहेको भिडियो साामजीक सञ्जालमा भाइरल भएपछि महानगरले उसलाई उद्धार गरेको थियो ।
पढाइ छोडेर कामको लागि काठमााडौँ आएका मनिस भन्छन् ईस्थर बेन्जामेनमा आएपछि छोडेको पढाइलाई फेरी निरन्तरता दिन पाए ।’
त्यस्तै भोजपुरका १४ वर्षिय सुरज गुरुङ्गतीन (नाम परिवर्तन) साथीसँग काम गरेर जीविकोपार्जन गर्न काठमाडौं आएका थिए ।
ललितपुर महानगरपालिकाको महालक्ष्मी नगरपालिकामा रहेको ग्रिल कारखानाबाट हालै उनको उद्धार गरिएको थियो । उद्धार पछि उनलाई पनि ललितपुर महानगरले एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको लागि पठायो ।
साथीको लहैलहैमा लागेर भोजपुरबाट भागेर आएका सुरज भन्छन् ‘तिन महिना ग्रिल कारखानामा काम गरे पारिश्रमिक पनि पाइन र पढ्न पनि पाइन ।’
ललितपुर महानगरले उद्धार गरेर संस्थामा आश्रय दिएपछि पढ्न पनि पाएको अन्य आधारभूत आवश्यकता पनि सबै पुरा भएकोमा खुसी लागेको सोनाम सुनाउँछन् ।
क्रमश सिन्धुलीका सन्तोष माझी (नाम परिवर्तन)ले १४ वर्षको उमेरका काठमाडौँ आएर इँटा भट्टामा काम गर्दै थिए । आमाले छोडर गएपछि बुबासँग भक्तपुर आएर उनले इट्टा भट्टामा काम गर्न थाले । उनी मात्र हैन उनका सानो भाइ र बहिनी पनि त्यही इँटा भट्टामा श्रम गर्न थाले ।
कमजोर आर्थिक स्थितिले सन्तोष र तिनका भाइबहिनीलाई इँटा कारखानामा काम गर्न बाध्य भए ।
दिपक भन्छन् ‘मेरो बुबा दैनिक ज्याला मजदुरी गर्नुहुन्थ्यो र बुबाले कामएको पैसाले हामी तीन जनालाई खाना पनि पुग्दैन थियो । त्यसैले हामीले पढाइ पनि छोड्नु पर्यो र बुबालाई सहयोग गर्नको लागि काम गर्नुपर्यो ।’
सन्तोष सुनाउछन् यदि आमाले छोडेर नगएको भए आमा बुबा मिलेर हामीलाई पढाउनु हुन्थ्यो होला, हामीले काम गर्न पर्दैन थियो होला।
एस्थर बेन्जामिन्सले सन्तोषलाई उद्धार गर्यो र उनको भाइ बहिनीलाई पनि पढाइको लागि सहयोग गर्यो । काम छोडेर पढ्न पाएकोमा उनी अहिले खुसी छन् ।
मनिससँगै उद्धार गरिएका तीन बालबालिका अहिले एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनको चाइल्ड सेफ हाउसमा बसिरहेका छन् । उद्धार गरिसकेपछि मनिस विद्यालय भर्ना भएर पढाइलाई निरन्तरता दिइरहेका छन् । साथै सुरज र सन्तोषले पनि पढाइलाई निरन्तरता दिन थालिसकेका छन् ।
फाउन्डेसनका उद्धार संयोजक दिलु तामाङले अहिले घरपरिवारको समस्याका कारण बालबालिका घर छाडेर विभिन्न किसिमको श्रममा संलग्न हुने गरेको बताइन् । सिन्धुपाल्चोकका तामाङ विगत सात महिनादेखि बालश्रममा संलग्न भेटिएको उनले बताइन् ।
परिवारबाट हुने बेवास्ताले बालबालिकालाई घर छाड्न प्रेरित गर्छ । मनिसका परिवार उनलाई घर फर्काउन चाहन्छन् तर उनी घर फर्कन नचाहेको तामाङ बताउँछिन् ।
उनी भन्छिन् ‘बालबालिकाहरूलाई परिवारमा फर्कन इच्छा नगरेसम्म र उनीहरूको लागि सुरक्षित वातावरण नभएसम्म हामी उनीहरूको घर पठाउँदैनौ ।’
ईस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनका कार्यकारी निर्देशक आत्माराम थापाले बाल अधिकारको क्षेत्रमा उल्लेखनीय काम भइरहेको भए पनि बालश्रम मुक्त समाज निर्माण गर्न सरकार, नागरिक समाज र गैरसरकारी तीनै तहको समन्वय र सहकार्य महत्वपूर्ण रहेको बताए ।
बाल अधिकारको क्षेत्रमा आफ्नो लामो काम गरेको अनुभव बाँड्दै उनले स्थानीय तहमा बाल अधिकारको व्यवस्थालाई सुदृढ गर्दै बालबालिकालाई हिंसा र दुर्व्यवहारबाट जोगाउनुपर्ने बताए ।
काठमाडौँ महानगरले पछिल्लो ५ महिनामा विभिन्न क्षेत्रमा बाल श्रमिकको रूपमा कार्यरत ५१ जना बालबालिकाको उद्धार गरेको छ ।
ईस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन (EBMF) सन् २००७ मा भारतमा बेचबिखनमा परेका वा विस्थापित र नेपाल भित्रै जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकाको उद्धार गर्ने उद्देश्यले स्थापना भएको हो। यसको स्थापना भएदेखि, विभिन्न क्षेत्रका करिब १,००० बालबालिकाको उद्धार गरिसकेको छ, विशेष गरी भारतका सर्कस हाउसहरू र नेपालमा जोखिमपूर्ण श्रोत्रबाट संस्थाले बालबालिकालाई उद्धार गरेको छ।
EBMF ले उद्धार गरिएका बालबालिकाहरूलाई सम्भव भएसम्म परिवारहरूसँग पुनर्मिलन गरेर उनीहरूको उद्धारपछिको हेरचाहको लागि सहयोग गर्दै आएको छ। पुनर्मिलन सम्भव नभएका बालबालिकाहरूको संरक्षण र समग्र विकास सुनिश्चित गर्दै साना परिवार प्रकारका घरहरू (बाल हेरचाह गृह) मा संरचित आवासीय हेरचाह उपलब्ध गराएर हेरचाह गरिन्छ। EBMF ले ललितपुरमा एउटा र मकवानपुर जिल्लामा दुईवटा केयर होम सञ्चालन गरिरहेको छ । यसबाहेक उद्धार गरिएका बालबालिकालाई उद्धार कार्यमा संलग्न गराउन ईबीएमएफले ललितपुर जिल्लामा एउटा सेफ होम (ट्रान्जिट होम) स्थापना गरेको छ ।
नेपालमा आर्थिक अभाव तथा गरिबीका कारण बालबालिकाहरू घर छोडेर बालश्रमिक बन्न बाध्य हुँदै छन्। यस अवस्थामा राज्यका तीनै तहको सरकारले बालअधिकारका विषयमा बनेका नियमकानुननको पालना गर्ने गराउने निकायलाई तदारुकताका साथ अघि बढाउनुपर्ने देखिन्छ। हरेक दिनजस्तो बालबालिका हराएको, अपहरणमा परेको, चोरी डकैतीमा प्रयोग गरिएको जस्ता घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ।
बालश्रमको जोखिममा बालक र बालिका दुवै छन् तर संख्या तथा कार्यप्रकृतिका रूपममा हेर्ने हो भने बालिका भन्दा बालकको जोखिमता अधिक देखिन्छ। mसामान्यतयाः बालिका भन्दा बालकलाई सजिलै घर, परिवारबाट टाढा जान मिल्ने तथा कमाइ गर्नुपर्ने र परिवार पाल्ने जिम्मेवारी पुरुषको भएकाले सानैदेखि बालकले काम गर्नुपर्छ भन्ने सोचलगायतका कारणसमेत बालकहरू बालश्रममा संलग्न बढी हुने गरेका बिज्ञहरुको भनाई छ ।
बालबालिकालाई कुनै पनि काम लगाउन नहुने होइन । त्यस्तै उनीहरूलाई सबै काम गर्न लगाउनु पनि हुँदैन । बालबालिकालाई काममा लगाउनु हुन्छ कि हुँदैन ? उनीहरूले गर्न मिल्ने काम के हो र उनीहरूबाट गराउन नमिल्ने काम के हो ? कस्ता कामहरू बालश्रम हुन् र कस्ता कामहरू बालश्रम होइनन् भन्ने विषयमा अभिभावक, शिक्षक, बालबालिकालगायत सबै जानकार हुनु आवश्यक छ ।
बालबालिकाले अभिभावकले जे गर्छन्, त्यही सिक्छन्। अभिभावकले राम्रो सिकाए राम्रो सिक्छन् भने नराम्रो काम, गाली गर्ने तथा पिट्ने गर्यो भने त्यही पछिसम्म सिक्ने गर्दछन्। चाइल्ड वेलफेयरका अनुसार यो खालको सिकाई एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै जान्छ।
बालबालिकालाई राम्रो सिकाउनु अभिभावनको दायित्व हो ।
प्रतिक्रिया