बुधबार, चैत ४, २०८२

‘यूके बेक अफः द प्रोफेसनल्स-२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै

मेरोन्यूज २०८१ असोज २१ गते १२:३४

काठमाडौँ । धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेकाछन् । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुगेका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ जितेपछि उनको चर्चा थप चुलिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

इन्टरकन्टिनेन्टल लन्डन ओटुका तर्फबाट नारायण र भारतका तनुज शर्माको जोडीले लण्डनमा भएको प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा नारायण र तनुजसँगै रोयल एयरफोर्स क्लबका गेरोल र माइकल तथा सोको प्याटिसेरीका भरत र जोन अन्तिम तीन टोलीमा छानिन सफल भएका थिए ।

फाइनलमा १२ टोलीबीच भएको प्रतिस्पर्धामा नारायण र तनुजले ‘गडुदा’ शीर्षकको प्रतियोगितामा आफ्नो सिर्जनशीलता प्रस्तुत गर्दै उपाधि जित्नुभएको हो । चाँगुनारायणको प्राचीन अभिलेखसँग सम्बन्धित गडुदा नेवारी संस्कृतिको महत्वपूर्ण परिकारमध्येको एक हो ।

छनोट प्रतियोगिताको निर्णायकमा चेरिस फिन्डेन र बेनोइट ब्लिन थिए ।

‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विश्वकै प्रतिष्ठित र निकै प्रतिस्पर्धात्मक बेकिङ प्रतियोगिता मानिन्छ । प्रतियोगितामा सेफ नारायणले चिनी, चकलेट, चाउ पेस्ट्री र पाटे सुक्रे जस्ता प्रविधिगत क्षेत्रमा आफ्नो दक्षता देखाएका थिए ।

“यो पुरस्कार मेरा लागि निकै ठूलो सफलता हो । त्यसमाथि नेपाल र नेपालीका लागि पनि यो गौरवको कुरा हो”, सेफ नारायणले भने ।

काठमाडौँमा विद्यालय तहको पढाई सकेपछि पाककलातर्फ लाग्नुभएका उहाँले सन् २०१४ मा युएईको दुबईस्थित डबलट्रीमा काम गर्ने अवसर पाए । त्यतिबेला सहायक सेफ रहेका नारायणले क्रमशः पेस्ट्री र बेकरीसम्बन्धी सीप सिके । दुबई पुगेको एक वर्षपछि नारायणले कतारको दोहास्थित ‘फोर सिजन’ होटलमा काम पाए। त्यहाँ उनले खासगरी चकलेट, केक र ब्रेडसम्बन्धी नयाँ–नयाँ प्रयोग गर्दै सीप विस्तार गरे ।

सन् २०१८ मा सेफ युएईको आबुधाबीस्थित ‘फोर सिजन’ होटलमा समेत काम सुरु गरेका नारायण सन् २०२३ मा कामकै सिलसिलामा बेलायत पुगे । त्यसयता उनि त्यहाँको ओटुस्थित ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमा आफ्नो पाककलाको सीप र अनुभव पस्किरहका छन् । ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ का विजेता सेफ तनुज पनि ‘इन्टरकन्टिनेन्टल लण्डन’ होटलमै कार्यरत हुनुहुन्छ ।

“धादिङको सानो गाउँदेखि विश्वस्तरीय होटलमा सेफका रूपमा कार्य गर्न पाउनु नै एक किसिमको सफलता हो”, नारायणले भन्नुभयो, “यूके बेकः अफ प्रोफेसनल्स–२०२४ उपाधि जितेपछि आफूमाथि केही नयाँ गर्ने चुनौती थपिएको महसुस भएको छ ।”

खासगरी चकलेटप्रतिको मोहका कारण पनि आफूले यो सफलता प्राप्त गरेको नारायण बताउछन् । “मेरो पहिलो रोजाइ नै चकलेट हो”, उनि भन्छन्, “मलाई गुलियो र क्रिमसँग खेल्न बढी मनपर्छ ।”

आगामी दिनमा नेपाली सामग्रीहरूलाई विश्वस्तरमा प्रवर्द्धन गर्नका लागि आफूले सक्दो मेहनत गर्ने नारायण बताउछन् । “मैले बनाउने सामग्रीमा गुड र नेपाली अन्नलाई प्रयोग गर्ने सोच छ”, उनले भने, “त्यसले नेपालको पाककलालाई विश्वभर पहिचान दिलाउनेमा विश्वस्त छु ।”

नारायणसँगै उपाधि जित्ने सेफ तनुजको पारिवारिक पृष्ठभूमि चिकित्सा भए पनि उनले पाककलाको करिअरलाई पछ्याउनु भएको हो । उहाँले परम्परागत भारतीय मिठाइलाई फ्रान्सेली प्रविधिहरू प्रयोग गरेर आफ्नो डिजर्टहरूमा समावेश गरेका छ ।

प्रतिक्रिया