बुधबार, चैत २५, २०८२

वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

मेरोन्यूज २०८१ असोज २२ गते ११:१०

फुङ्लिङ (ताप्लेजुङ) । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सो गीतको सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।

Advertisement
nepal life insurencenepal life insurence

सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा आफूले कार्यरत रहँदा भोगेका र अवलोकन गरेका विषयलाई गीतमा जीवन्त प्रस्तुत गरिएको गीतकार भट्टराईले जानकारी दिए। उनले भने, “गीतले ताप्लेजुङको सुन्दरता र चियाको पसलजस्तो सानो व्यवसायमा लागेका मानिसलाई सम्मान र प्रेरणा दिन खोजेको छ । स्थानीय सानातिना व्यवसायमा लागेका मानिसको सङ्घर्ष, लगनशीलता र स्थानीय पर्यटनको महत्वलाई गीतमा समेटिएको छ ।”

सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायतले ताप्लेजुङको पर्यटन र साना व्यवसायीलाई प्रोत्साहन गर्न गीतले सहयोग पुर्याउने विचार व्यक्त गरे। उनले श्रष्टा भट्टराईले अगामी साहित्यिक यात्रा अनवरत रुपमा लागिरहने विश्वास समेत व्यक्त गरे।

‘दिलमायाको चिया दोकान’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिने जनाइएको छ । पाथीभरा क्रिएसन हाउसका प्रमुख हर्कराज गुरुङले गीतको म्युजिक भिडियो निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। गीतमा राजनराज शिवाकोटीको सङ्गीत, मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर समावेश गरिएको छ । साना उद्यमी र ताप्लेजुङको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा गीतका शब्दले विशेष भूमिका खेल्ने गायक श्रेष्ठले बताए।

उनका अनुसार ‘दिलमायाको चिया दोकान’ले चिया पसलजस्तो सानो व्यवसायलाई सम्मान दिनुका साथै व्यावसायिक अनुशासन, लगनशीलता र इमान्दारिता झल्काउने प्रयास गरेको छ । उनले भने, “गीतको निर्माणले ताप्लेजुङमा रहेका पर्यटन र चिया व्यापारजस्ता साना व्यवसायको विकासमा प्रत्यक्ष रूपमा टेवा पुर्याउने उद्देश्य राखेको छ । साना व्यवसाय ताप्लेजुङमा मात्रै नभई देशभरि पर्यटनको मुख्य आधारस्तम्भ बनिरहेका छन् । यस्ता व्यवसायले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनको वृद्धि गर्न सहयोग गरेका छन् ।” स्रष्टा भट्टराईले यसअघि ‘ठाँटीको घाम’ उपन्यास ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीत सार्वजनिक गरेका थिए।

प्रतिक्रिया