कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारले गाँजाखेती प्रवर्द्धनदेखि घरेलु मदिराको ब्रान्डिङसम्मका विषय समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । एमाले र कांग्रेसका प्रतिनिधिहरू सम्मिलित कार्यदलले तयार पारेको आठ पृष्ठ लामो प्रतिवेदनमा क्षेत्रगत प्राथमिकता उल्लेख गर्दै बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा छिमेकी देशका मुख्य शहरहरूमा ‘टुरिजम शो’ आयोजना गर्नेदेखि क्यासिनो विकास र गाँजा उत्पादनसम्मका विषय समेटिएका छन् । कार्यक्रमका प्रमुख पाँच स्तम्भमा सुशासन र पारदर्शीता, आर्थिक विकास, भौतिक पूर्वाधार तथा वन, पर्यटन, उद्योग, कृषि तथा सहकारी र शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासलाई प्रस्तुत गरिएको छ ।
न्यूनतम कार्यक्रममा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश निषेध गरिएको भएता पनि अनुगमनको कमीले प्रभावकारी कार्यान्वयन हुन नसकेको आलोचनाका बीच कोशी सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्न क्यासिनोको विकास गर्ने नीति अपनाउने उल्लेख छ ।
पर्यटन प्रवर्द्धनका लागि विराटनगर र भद्रपुरबाट अन्तरदेशीय उडान र ‘माउन्टेन फ्लाइट’ सुरु गर्ने योजना सरकारको छ । साथै, खुर्कोट-चतरा, तुम्लिङटार-चतरा र ताप्लेजुङ तमोर दोभान-चतरा मार्गमा जल यातायातको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रममा उल्लेख छ ।
सरकारले ‘हल्लो सीएम’ कार्यक्रमलाई निरन्तरता दिने र सार्वजनिक सुनुवाइको नीतिलाई कार्यान्वयन गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । यसैगरी, जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि कडा आचारसंहिता लागू गरिने विषय पनि समेटिएको छ ।
सरकारले गर्भवती तथा सुत्केरी महिला र १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै शैलेजा आचार्य हृदय रोग केन्द्र, विराटनगरलाई नयाँ ढंगले सञ्चालन गर्ने पनि उल्लेख छ । विद्यालय शिक्षालाई उत्पादनसँग जोड्ने नीति र कार्यक्रम लागू गर्ने लक्ष्य राखिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यी कार्यक्रमहरूलाई आधार बनाएर सरकारले काम गर्ने बताएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया