मंगलबार, चैत १०, २०८२

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

मेरोन्यूज २०८१ कार्तिक २० गते १७:११

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। “यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ,” उनले भने, “चाडवाड सकियो अब निर्माणले झन् गति लिन्छ ।”

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ को दमौली बजार र व्यास–५ को चापाघाट जोड्ने मादी नदी पुलको निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको उनले जानकारी दिए। तीन सय १५ मिटर लामो यस पुल ‘आर्क डिजाइन’को चार लेनको हुनेछ । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल डिजाइन गरिएको छ ।

पर्यटक पनि आकर्षित गर्ने भनी कलात्मक निर्माण गर्न लागिएको ठेकेदार कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिए । पुलको सातवटा ‘फाउन्डेसन’ निर्माण गरिएको छ । हाल पानीमुनि पाइलिङ, पाइल क्याप र पिलरको काम पूरा गरी पानीमाथि ‘सुपर स्ट्रक्चर’ निर्माण भइरहेको छ ।

हाल रहेको दुई लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार नेपालमै पहिलोपटक चार लेनको पुल निर्माण भइरहेको र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।

निर्माणाधीन सोही पुल नजिक दुई लेनको तीन सय ७० मिटर लामो पुलबाट हाल सवारी आवतजावत भइरहेका छन् । कूल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन–पोखरा सडकको विस्तार विसं २०७८ वैशाखदेखि सुरु भएको हो । हाल उक्त राजमार्ग दुई लेनको छ ।

पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ ।

प्रतिक्रिया