बागलुङमा पौंदेलीले मनाए न्वागी पर्व

बलेवा (बागलुङ) । पौंदेलीले १७औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् । यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जनाकारी दिए।
तत्कालीन गलकोट र पर्वत राज्यका सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनीतिक महत्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको स्थानीय भानुभक्त पौडेलले जानकारी दिए । “बागलुङको ग्वालीचौर, गुल्मीको अरेवा, अमराईलगायत पौंदीवासीको खेतमा धान पाकेपछि कात्तिकको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानीय र जनप्रतिनिधिको रोहवरमा मुठी लिने (धान काट्ने) र न्वागी खाने मिति हेराइने चलन छ”, स्थानीय रामबहादुर कुँवरले भने ।
यस वर्षको मुठी लिने (धान काट्ने) दिन भने गत कात्तिक ११ गते ९ः३३ बजे पूर्व फर्केर परेको उनले सुनाए। न्वागी खाने समय र कुन दिशातर्फ फर्केर न्वागी खाने भन्ने यकिनचाहिँ मङ्सिर लागेपछि मात्र तोक्ने चलन रहेको कुँवरले सुनाए।
कात्तिक पहिलो हप्ता सबैसँगबाट मुठी लिई धान काटेर स्याहार्ने र न्वागीलाई घरघरमा हवन गरेपछि थानपति, छत्रभूमि, सिद्धका नाममा देवतालाई चढाई मङ्सिरको पहिलो हप्ताभित्र न्वागी खाने यस क्षेत्रमा चलन छ । यसपटकको न्वागी मेला पनि सोमबारबाटै ८ गतेसम्म बडिगाड गाउँपालिका–५ खारमा सुरु भएको छ ।
स्थानीयका अनुसार यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका सबैले खाने प्रचलन छ । खेत भएकाहरूले खेत नभएकाहरूलाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ । परापूर्वकालमा स्थानीयले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बूढापाकाले गुनासो गर्ने गरेका छन् ।














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया