आइतबार, चैत १, २०८२

पाँच महिनामा ७ करोड बढी राजस्व सङ्कलन

मेरोन्यूज २०८१ पुष १९ गते १२:३९

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय सङ्कलन गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी रु एक करोड ४९ लाख एक हजार सात सय ५०, सवारीसाधन कर रु पाँच करोड ७० लाख ५५ हजार एक सय ६० र सवारी आयकर रु २७ लाख ७२ हजार तीन सय ७५ सङ्कलन भएको हो ।

यहाँ स्थापित यातायात व्यवस्था कार्यालयको कार्यक्षेत्र तनहुँ, गोरखा, लमजुङ र मनाङ भए पनि चितवन र धादिङका बासिन्दासमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेका कार्यालय प्रमुख गोपाल ओलीले जानकारी दिए। उनका अनुसार ‘बिलबुक’ नवीकरणमा दुई सय, लाइसेन्स र ‘बायोमेट्रिक’मा दैनिक दुई सय ५० भन्दा बढीले सेवा लिने गरेका छन् । थोरै जनशक्तिका कारण सेवा प्रवाहमा भने समस्या रहेको कार्यालय प्रमुख ओलीले बताए। “सत्र जना कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा ११ जना कर्मचारी मात्रै सेवामा छौँ । सेवाग्राहीको चाप बढ्दै गइरहेको छ । त्यसैले थोरै जनशक्तिमा काम गर्नु पर्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ”, उनले भने।

बायोमेट्रिकका लागि आइतबार, सोमबार, मङ्गलबार र बुधबार गरी हप्तामा चार दिन काम गर्ने व्यवस्था मिलाइएको छ । जनशक्ति र भौतिक संरचनाको अभावमा सवारी जाँच र प्रदूषण जाँच गर्न नसकिएको कार्यालय प्रमुख ओलीले जानकारी दिए। वैदेशिक रोजगारी र विदेशमा पढ्न जाने विद्यार्थीलाई आकस्मिक लाइसेन्स आवश्यक परेमा सवारी ‘ट्रायल पास’ गरेपछि राजस्व लिएर एक हप्तामा अनुमतिपत्र नम्बर दिने गरिएको छ ।

सन् २०२३ को डिसेम्बरसम्म छापिएर आएका नौ हजार छ सय ४५ जनालाई लाइसेन्स वितरण गरिसकिएको छ । त्यसपछिका भने छपाई प्रक्रियामै रहेका सो कार्यालयले जनाएको छ

प्रतिक्रिया