बाँझो बारी जोतेर कोदो उत्पादन

पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन गरेको हो ।
नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोदोखेती सुरु गरेको नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताए । उक्त कार्यक्रमलाई उत्पादनसँग जोड्न यहाँको बाँझो जग्गालाई छनोट गरिएको भन्दै यो क्षेत्र विगतमा कोदोखेतीमा प्रख्यात रहनुका साथै उत्पादनयोग्य जमिन भएकाले पनि प्रशस्त उत्पादन हुने उनले उल्लेख गरे ।
बसाइँसराइ, वैदेशिक रोजगारी र शिक्षाका लागि सहर केन्द्रित हुनु, सुविधाको पहुँच विस्तारले यस क्षेत्रको जमिन बाँझो बनेको र अन्य कारणले बाँझो बनेको सुवेदीले बताए । बाँझो जग्गालाई सदुपयोग गरी करिब दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको जनाउँदै उनले पहिलो चरणमा गरिएको खेतीबाट १६ मुरी कोदो उत्पादन भएको उल्लेख गरे ।
उत्पादित कोदोलाई पुरानो वडा कार्यालयमा भण्डारण गरी राखिएको छ । जसको मूल्य प्रतिपाथीको दुई सय ५० निर्धारण गरिएको छ । कोदोको नल करिब ४० भारी रहेको र त्यसको मूल्य प्रतिभारी चार सय कायम गरिएको रोजगार संयोजक सुवेदीले बताए । यो मूल्यअनुसार कोदोको कूल ८० हजार र नलको १६ हजार गरी नगरपालिकाले ९६ हजार आम्दानी गरेको उनले जानकारी दिए ।
बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका सूचीकृत युवालाई यो कार्यक्रममा समावेश गरिएको थियो । युवालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै बाँझो जमिनमा अन्नपात उब्जनी हुने भएकाले यो कार्यक्रम प्रभावकारी देखिएको रोजगार संयोजक सुवेदीले बताए ।
स्थानीय हुमनाथ पौडेलले बनमारा र खरले भरिएको बारी सरसफाइ गरी थालिएको खेतीबाट यति धेरै कोदो फल्नुले जग्गा बाँझो छाड्न नहुने सन्देश दिएको बताए । यो कार्यक्रमबाट गाउँका करिब २५ महिला र २० जना युवाले काम गर्ने अवसर पाएका उनले जानकारी दिए ।
राज्यले प्रदान गरेको शःसर्त अनुदानलाई स्थानीय तहले उद्देश्य अनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्ने, उर्वर क्षमता भएको बाँझो जग्गाको सदुपयोग गर्ने र उत्पादित कृषि उपजको बिक्री गरी पालिकाको आन्तरिक आय वृद्धिका लागि यो अवधारणा तर्जुमा गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । पालिकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको उल्लेख गर्दै उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेका अवस्थामा यो कार्यक्रमले बाँझो जमिन सदुपयोग हुन थालेको उल्लेख गरे ।
कुश्मा नगरपालिकाले ‘नगरप्रमुखसँग रोजगार कार्यक्रम’ सञ्चालन गरेको छ । नगरका बेरोजगार जनशक्तिलाई विकास निर्माणमा परिचालन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो । सबै बेरोजगार युवालाई आफ्नो सीप र योग्यताअनुसारको कार्यक्रममा आवेदन दिन नगर कार्यालयले आग्रह गरेको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया