सोमबार, जेठ ५, २०८२

तस्बिरमा हेर्नुहाेस् २४ औं सशस्त्र प्रहरी दिवस

मेरोन्यूज २०८१ माघ ९ गते १८:४१

काठमाडाैं। सशस्त्र प्रहरीले २४ औं सशस्त्र प्रहरी दिवस–२०८१ मनाएको छ। बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सशस्त्र प्रहरीले उक्त दिवस मनाएको हो।

उक्त अवसरमा सशस्त्र प्रहरीको विशेष दलले ड्रिल, सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

समारोहमा गृहमन्त्री रमेश लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज बिष्टलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ तथा यस वर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।

यसअघि २०७८ सालमा समेत नायव महानिरीक्षक ठाडा मगरले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई उत्कृष्ट बाहिनी बनाउन सफल भएका थिए ।

गृहमन्त्री लेखकले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल नेपालद्वारा सम्पादित कार्यहरु समेती तयार गरी प्रकाशित ‘सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१’ को लोकार्पण समेत गरे ।

समारोहमा गृहमन्त्री लेखकले प्रधानमन्त्री के.पी. शर्मा ओलीले सशस्त्र प्रहरी बल नेपालको २४औँ वार्षिकोत्सवको अवसरमा दिएको शुभकामना सुनाएका थिए ।

उनले विभिन्न चुनौतीको समयमा महत्वपूर्ण जिम्मेवारीसहित स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले मुलुकको शान्ति स्थापना, आतंककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायत सामाजिक सेवामा समेत उत्कृष्ट योगदान दिएको बताउँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले देखाएको ईमान्दारिता र बलिदानको प्रशंसा गरे ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आईपरेका कठिनाई र चुनौतीपूर्ण परिस्थितीमा समेत कत्तिपनि विचल्लीत नभई देश र जनताको सेवामा निरन्तर खटिइ आफुलाई प्राप्त जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको बताउँदै सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको बताए ।

उनले मुलुकको आर्थिक सुदृढीकरणमा देखा परेको समस्या नै राजश्व चुहावट र तस्करी भएको हुँदा यसलाई रोकथाम र समाधान गर्न सशस्त्र प्रहरी बल नेपालले देखाएको महत्वपूर्ण भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै संगठनको विस्तार गर्न थप जनशक्तिको व्यवस्थापनसहित बोर्डर आउट पोष्टहरु समेत थप गर्न गृहमन्त्रालय प्रयासरत रहेको बताए ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कुनैपनि कर्मचारीले आचारसंहिता उलंघन, गैर कानुनी कार्य तथा गतिविधिमा संलग्न नहुनुको साथै जिम्मेवारीबाट विमुख हुने कार्य नगरेको र भविष्यमा समेत नगर्ने बताउँदै संगठनको मर्यादा र जनताको विश्वासलाई कायम राख्दै मानवअधिकारको उच्च सम्मानकासाथ कार्य गर्न निर्देशन दिए।

उनले संगठनमा कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरु इमान्दारितापूर्वक कार्य क्षेत्रमा खटिईदा आईपरेका जस्तोसुकै समस्या र चुनौतीहरुको सामना गर्दा नेपाल सरकार तथा गृहमन्त्रालयले सदैव अभिभावकत्व प्रदान गर्ने बताउँदै सशस्त्र प्रहरी बल नेपालको क्षमता बृद्धि, प्रविधिको विस्तार, जनशक्तिको व्यवस्थापन र सुविधामा संगठनलाई थप प्रभावकारी रुपमा विकास गर्न र आवश्यक पर्ने सबै विषयहरुमा आफु सदैव प्रतिवद्ध रहेको समेत बताए ।

गृहमन्त्री लेखकले उद्वार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक श्रोतसाधन तथा आधुनिक उपकरणको व्यवस्थापनमा मन्त्रालयले थप प्रयत्न गरिरहेको तथा सशस्त्र प्रहरी बल नेपाल मातहत स्थापना गर्न लागेको फायर फाईटिङ्ग स्कुल सम्बन्धी प्रस्ताव अगाडी बढाइएको चर्चा गर्दै डिजास्टर भोलेयन्टियरको अवधारणालाई समेत मन्त्रालयले सकारात्मक रुपमा लिएको बताए ।

प्रतिक्रिया