सोमबार, चैत २, २०८२

पोखरा युनाइटेड एकेडेमीले ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ गर्ने

मेरोन्यूज २०८१ माघ १० गते १९:४९

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ आयोजना गर्ने भएको छ। कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रम माघ १५ गते हु्ने र सो अवसरमा विभिन्न १५ प्रकारका खानाका परिकार प्रस्तुत गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य बयानबहादुर गोदारले जानकारी दिए। कार्यक्रम दिउँसो २ बजेदेखि सुरु भएर साँझसम्म चल्नेछ। 

फेस्टिभलमा पोखराका नाम चलेका चार तारे होटलमा तालिम प्राप्त विद्यार्थीले खानाका परिकार तयार गरेर प्रस्तुत गर्नेछन्। प्राचार्य गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको  बताए। 

विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीका अनुसार कार्यक्रममा सहभागी हुने कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एक सय, कक्षा ४ र ५ का विद्यार्थीलाई दुई सय, कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई तीन सय, शिक्षकशिक्षिका तथा अभिभावका लागि पाँच सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। 

टिकट काटेपछि सोही रकम बराबरको खानाका परिकार रोजेर खान पाइनेछ। खानाका परिकार अग्र्यानिक हुनेछन्। स्वादभन्दा पनि स्वास्थ्यलाई ध्यानमा राखिने अधिकारीले बताए। उनका अनुसार विद्यालय आसपासका सबै छिमेकीलाई निमन्त्रण पत्र पठाएर कार्यक्रममा सहभागी गराएर विद्यालयका गतिविधिबारे जानकारी गराइनेछ। 

कार्यक्रममा कमेडी च्याम्पियन सिजन–३ का उत्कृष्ट १२ कमेडियनले कमेडी प्रस्तुत गर्नेछन्। जसमा कमेडी च्याम्पियन विजेता सुनिल खड्का, उत्कृष्ट प्रतिस्पर्धी कर्मसिंह लामा, प्रतीक अधिकारीलगायत हुनेछन्। 

यसैगरी लोकल व्याण्डको लाइभ म्युजिकमा समेत सहभागी रमाउन पाउनेछन्। लोकल व्याण्ड विद्यालयकै समूह हुने भने जोजीजू म्यूजिक व्याण्डले त्यसमा साथ दिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले जानकारी दिए। यसले विद्यार्थीकै प्रतिभा प्रस्फुटनमा मद्दत पुर्याउने उनले विश्वास व्यक्त गरे।


अध्यक्ष भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका स्पष्ट पारे।

विद्यालयले आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरेको उनले बताए। 

२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन्। विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ।
 

प्रतिक्रिया