रविको आजको थुनछेक बहस सुरू

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरू भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस चलिरहेको छ ।
बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको थियाे ।सहकारीपीडितको तर्फबाट आज दुई जना कानून व्यवसायीले बहस गर्नेछन् ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलाे पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, साे दिन हाजिरी जमानीमा रिहा भएका थिए । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहिवार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियाे।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथी उजुरी गरिएको हो ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।
प्रतिक्रिया