भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

चितवन । भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश भएका छन् ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो । उनले भने, “सीमा क्षेत्रमा ३० प्रतिशत हाराहारी सेतो अण्डा देखिएको छ ।” रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्बाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ ।
पोखरेलले किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बताए । यसअघि पनि बेलाबेलामा समस्या आउँदा गृह प्रशासनको ध्यानाकर्षण गराएपछि समस्या केही हदसम्म समाधान हुने गरेको उनको भनाइ छ ।
सङ्घका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट ९३० वटा० अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठुला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको आगमनमा कमी, स्कुल, कलेजमा जाडो बिदा, बढी जाडो, स्वस्थानी व्रतलगायत कारण अण्डाको मूल्यमा गिरावट आएको अर्यालले बताए । क्रमशः बजार सुधार भएर मूल्य बढ्न थालेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गरिएमा अण्डाले लागत मूल्य पाउने बताए ।
अण्डा उत्पादन र बजारीकरण गर्दै आएका युवा व्यवसायी अमोद खनालका अनुसार नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६ दशमलव ५६ पर्न आउँछ । लामो समय अण्डाले मूल्य नपाउँदा धेरै किसान विस्थापित भइसकेको उनले बताए । उनले भने, “सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ । जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्छ ।”
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार सीमा क्षेत्रबाट कुनै पनि अवैध वस्तु भित्र्याउन पाइन्छ । गुनासो आएको भन्दै कडाइका साथ रोक्न निर्देशन दिई सकिएको उनले बताए । उनले भने, “अण्डाका विषयमा गुनासो आएको छ । यससम्बन्धी ध्यानाकर्षण भएर आवश्यक निर्देशन भइसकेको छ ।” खुल्ला सिमाना भएकाले काममा कठिनाइ भएको भन्दै उनले यद्यपि मिलेमतोमा अवैध रूपमा अण्डा भित्रन नदिइने बताए । नेपालमा अहिले दैनिक ३२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको अनुमान छ ।















एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया