१५ वर्षपछि पुनः गहुँखेतीमा जुट्दै तनहुँका किसान

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ ।
यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् । स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिए । घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेको उनले बताए ।
हाल २० रोपनी जग्गामा सामूहिक खेती गरिएको छ । गुरुङले भने, “विगतमा गहुँखेतीका लागि राम्रो बीउ पाउन पनि समस्या हुन्थ्यो । कतैबाट सहयोग नपाएपछि कृषकहरू यसबाट विस्थापित भए तर पछिल्लो समय गाउँपालिकाले प्रोत्साहित गरेको छ । बीउ र प्रविधिमा सहयोग गरेपछि हामी पुनः यसतर्फ आकर्षित भएका छौँ ।”
स्थानीय गङ्गा गुरुङले पनि गाउँपालिकाको प्रेरणाबाट आफूहरू गहुँखेतीमा लागेको बताए । उनले प्रविधि र बीउ सहयोग भएपछि सामूहिक गहुँखेती सुरु गरिएको बताए । स्थानीय धनबहादुर गुरुङ, लक्ष्मण गुरुङ, डम्बर गुरुङ, मीना गुरुङ, सुष्मा गुरुङलगायतले सामूहिक रुपमा गहुँखेती गरिरहेका हुन् ।
गाउँपालिका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकहरू उत्साहका साथ गहुँखेती गर्न थालेको जानकारी दिए । “यो ठाउँ गहुँखेतीका लागि उपयुक्त छ तर विगतमा बीउ र प्रविधिमा पछि पर्दा धेरैले खेती गर्न छाडेका थिए । हाल गाउँपालिकाले बीउ र प्रविधिमा जोडेपछि कृषकहरूले सामूहिक खेती गर्न थाल्नुभएको छ”, उनले भने । यसलाई निरन्तरता दिन पालिकाले निरन्तर सहयोग गर्ने केसीले बताए ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यहाँ उत्पादित गहुँ बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बताए । उनले भने, “गाउँपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादित कृषि सामग्री बिक्री वितरणका लागि पालिकाले हाटबजार नै चलाएको छ । हाटबजारबाट स्थानीय उत्पादन सहज रूपमा बिक्री वितरण भइरहेको छ ।”
गाउँको बाझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तरमा आफूहरूले योजना बनाइरहेको अध्यक्ष चुमानले जानकारी दिए ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया