शनिबार, वैशाख ६, २०८२

दुर्गा प्रसाईँ भारतमा पक्राउ, नेपाल ल्याइँदै

मेरोन्यूज २०८१ चैत २७ गते २१:२६

 काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।

त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

सचिवालयको दाबी – आत्मसमर्पण हो

प्रसाईंको सचिवालयले भने उनले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’

प्रतिक्रिया