बिहीबार, वैशाख ४, २०८२

रास्वपा केन्द्रीय सदस्य संग्रौलालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

मेरोन्यूज २०८१ चैत ३० गते २०:५२

काठमाडौँ। सर्वोच्च अदालतले रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलालाई अवहेलनासम्बन्धी मुद्दामा ३ दिनभित्र बयानका लागि उपस्थित हुन आदेश गरेको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले सङ्ग्रौलालाई अदालतको अवहेलना हुनेगरी सङ्ग्रौलाले उक्त अभिव्यक्ति दिनुको कारण लिखित जवाफ सहित उपस्थित हुन आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि ज्वालाले फेसबुक स्टाटस लेखेर दलको झोला बोकेका न्यायाधीशहरूले आदेश गर्ने यस्तै हो भन्ने भावको धारणा सार्वजनिक गरेकी थिइन् ।

उक्त स्टाटसले अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्ने र न्यायपालिकामाथिको जनविश्वासमा संकट पैदा गर्ने भन्दै प्राञ्जल केसीले चैत २७ मा अवहेलना निवेदन दिएका थिए । निवेदन रुजु गरी २८ गते मात्र दर्ता भएको उक्त निवेदन आइतबार संयुक्त इजलासमा पेसीमा चढेको हो ।

सङ्ग्रौला यसअघि २०७८ मा रंगभेदी अभिव्यक्तिका कारण पक्राउ परेकी थिइन् । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँ उनलाई धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया