‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न कतारमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।
कतारको दोहामा बागलुङ सेवा समाजको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि आग्रह गरेका हुन् ।
अध्यक्ष ढकालले आफू बागुलङबाट आएर अहिले मुलुककै निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको उदाहरण दिँदै मिहिनेत, लगनशीलता र इमानदारिताका साथ काम गरेमा नेपालमा धेरै सम्भावना रहेको बताए ।
वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै अध्यक्ष ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न आग्रहसमेत गरे । कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरूको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रमा लगानी गर्न गइरहेको बताए ।
प्रतिक्रिया