बुधबार, वैशाख १०, २०८२

सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने

मेरोन्यूज २०८२ वैशाख ९ गते १६:२५

सोलुखुम्बु । सरकारले जलवायु परिवर्तनजन्य विपद्बाट प्रभावित सगरमाथा क्षेत्रको थामे बस्तीको पुनःनिर्माण अघि बढाउने जनाएको छ। आज खुम्बु गाउँपालिका–५ थामेमा ‘साथसाथै’ नामक संस्थाले आयोजना गरेको आरोही सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले थामेको पुनःनिर्माणलाई सरकारले अपनत्व लिएको बताए।

अन्तरराष्ट्रिय पृथ्वी दिवसका अवसर पारेर आयोजित आरोही सम्मेलनमा मन्त्री शाहीले बाढीका कारण भत्किएको थामे बस्तीको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै तत्कालीन पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकारले स्पष्ट रणनीतिसहित कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाए।

उनले भने, ‘हिमताल फुटेर आएको बाढीले थामेमा विनाश निम्त्याएको छ। यो केवल स्थानीय प्राकृतिक घटना होइन, यो वैश्विक जलवायु परिवर्तनको असर हो। नेपालले कुनै गल्ती नगरे पनि जलवायु सङ्कटको सजाय भोगिरहेको छ।’

मन्त्री शाहीका अनुसार यस्तो संवेदनशीलतालाई ध्यानमा राखी जलवायु न्यायको अन्तरराष्ट्रिय बहसमा नेपालले थप कडा आवाज उठाउनुपर्ने आवश्यकता छ। ‘अब जलवायु संकटबारे केवल बहस होइन, कार्यान्वयनमुखी दृष्टिकोण आवश्यक छ,’ उनले भने।

कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, पर्यावरण तथा पर्वतारोहण क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, आरोही, वातावरणविद्, सञ्चारकर्मी र स्थानीय बासिन्दाको उपस्थिति छ।

गतवर्षको भदौमा थामेमा हिमताल फुटेर आएको बाढीले थामेका दर्जनौँ घरसँगै खेतीयोग्य जमिन, पुल, पदमार्ग, बिजुली लाइन, खानेपानी योजना र धार्मिक संरचनामा समेत क्षति पु-याएको थियो । विस्थापित परिवार हाल अस्थायी टहरा र छिमेकीका घरहरूमा शरण लिएर बसेका छन्। सात महिना बितिसक्दा पनि पुनःनिर्माण अघि बढ्न सकेको छैन।

प्रतिक्रिया