छोङछिङ : खरानीबाट उडेको चिनियाँ ‘चील’

एक समय थियो, जब छोङछिङ चीनको दक्षिणपश्चिम कुनामा रहेको एउटा पर्वतीय सहर मात्र थियो । जलमार्गको केन्द्र, इतिहासको भार र युद्दको निसाना बोकेको खण्डहर सहर ।
तर आज, त्यही छोङछिङ पश्चिमी चीनको आर्थिक हव, आन्तराष्ट्रिय ब्यापार केन्द्र र स्मार्ट सिटिको आर्दश बनिसकेको छ । चारदशक अघिसम्म भोकमरीको सामना गरेको छोङछिङले अहिले अमेरिकाको न्युयोर्क बिर्साउने गरी विकास गरेको छ ।
स्थानीयहरु भन्छन्, ‘छोङछिङ खरानीबाट उठेको सहर हो ।’ छोङछिङ त्यही सहर हो– जसले एक समय (१९३८ देखि १९४३ सम्मको अवधी) भीषण बम र गोलाबारी थेगेको थियो।
जापानले एक सय ५० बमवर्षक विमानबाट दुईसय ६८ पटक छोङछिङको भूगोलमा ठूला– ठूला बम खसालेको थियो। जसमा परेर १०हजारभन्दा बढी चिनियाँहरुले ज्यान गुमाएका थिए। ३० हजारबढी भवनहरु ध्वस्त भएका थिए ।
त्यस्तो सहरलाई अहिले चिनियाँहरुले आर्थिक केन्द्रको हव बनाएका छन्। यही सहर अहिले शक्तिशाली विकासको पखेटा फैलाएर संसारभर उडिरहेको छ – चीलको झैं दृढ, तेज र गर्विलो सहर देखिएर । रेल, सडक, हवाई सेवा मात्रै होइन, नदीको जलमार्गले समुद्रसँग जोड्नेसम्मको काम छोङछिङमा भएको छ। औद्योगिक उत्पादन, डिजिटल पूर्वाधार र हरित विकास मात्रै छैन, विआरआई (वेल्ट एण्ड रोड इनेक्टिभिटि) अन्तर्गत रणनीतिक व्यापार केन्द्रमा छोङछिङ अगाडी छ ।
केन्द्र शासित अन्य ठूला नगरहरु राजधानी बेइजिङ, सांघाई र तियाङजिङ जस्तै विकासका दृष्टिले निक्कै अग्लाउने काम चीनले छोङछिङलाई गरेको छ। यो भूगोल याङ्सी तथा जिआलिङ नदीको संगममा छ। चीनको पश्चिम र दक्षिण क्षेत्रमा रहेको एकमात्रै नगरपालिका । कुनै समय बेइजिङपछि छेन्दुलाई चीनले दक्षिण एसियासँग सम्बन्ध सूत्रका हिसावले निकै महत्वपूर्ण सहर मानेको थियो। आज छेन्दुलाई जत्तिकै छोङछिङलाई चीनले प्राथमिकता दिएको देखिन्छ ।
८२ हजार चार सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको सहर । जनसंख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो नगरपालिका। छोङछिङको जनसंख्या तीन करोड २० लाख हाराहारीमा छ।

०००
इतिहास अध्ययन गर्ने हो भने छोङछिङसँग करिव ३ हजार वर्ष पूरानो इतिहास छ । प्राचिन ‘बा’ राज्य देखि लिएर ‘हान बंश’सम्म यो सहरले ब्यापार, प्रशासन र युद्दसँग आफ्नो सम्बन्ध गाँसेको थियो । दोस्रो विश्वयुद्द ताक जब जापानले चीनमाथी आक्रमण गर्न थाल्यो, चीन सरकारले यही सहरलाई आफ्नो अस्थायी राजधानी बनाएको थियो ।
त्यो बेला चीनका राष्ट्रपति च्याङकाई शेकले छोङछिङबाट शासन गरेका थिए । यही छोङछिङ हो, जसले जापानसँगको ‘प्रतिरोधी युद्द’ शानका साथ थेगेको थियो । त्यसपछि छोङछिङको लागि सन् १९९७ यस्तो वर्ष बनेर आइदियो, जसले यहाँको विकासका लागि एउटा मोडेल स्थापित गरिदियो । त्यसबेलासम्म छोङछिङ सिचुआन प्रान्तसँग गाँसिएको थियो ।
जब राष्ट्रपति ज्याङ जेमिनले छोङछिङलाई सिचुआन प्रान्तबाट अलग गरेर केन्द्र शासित नगरपालिकामा रहने निर्णय लिए । छोङछिङका लागि यो निर्णय बरदान बनिदियो ।
सिधा केन्द्र सरकारबाट बजेट पाउने अवस्था बन्यो । ठूला विकास परियोजनाहरु सजिल्यै कार्यान्वयन गर्न सक्ने बन्यो । छोङकिङका नेताहरुले आफ्नो भिजन अनुसार योजना कार्यान्वनयमा लैजान पाए । त्यसपछि त छोङछिङले आफ्नो रुपरंङ फेर्न थालि हाल्यो ।
पछि बो झिलाई (BO Xilai) ले त्यहाँ २००७ देखि २०१२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको छोङछिङ नगर कमिटि सचिवको रुपमा काम गरे । उनले चाङ च्याङग (RED CULTURE) प्रचार अभियान चलाए । अपराध नियन्त्रणमा काम गरे । उनको पालामा पनि छोङछिङले सहरको रुप बदल्यो । भलै, उनी पछि भष्ट्राचार काण्डमा परे र हटाइए । अहिले उनको त्यहाँ कुनै सम्झना हुन्न ।
उनीपछि छोङछिङलाई बदल्ने पात्रमा अहिलेका राष्ट्रपति सी जिङपिङकै नाम अगाडी आउँछ । उनले छोङछिङलाई अहिलेको छोङछिङ बनाउन रणनीतिक भूमिका खेले । राष्टपति सीको नेतृत्वमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत छोङछिङलाई (NEW International Land Sea Trade Corridor ) केन्द्र बनाए । स्मार्ट चाइना एक्स्पो जस्ता कार्यक्रममार्फत डिजिटल स्मार्ट सहर बनाउन प्रोत्साहन गरे । गरिबी निवारण जस्ता अयिभान चलाए ।
अहिले यही सहर रेल, बन्दरगाह, मेट्रो, अन्तराष्ट्रिय एयरपोर्टले भीमकाय बनेको छ । एचपी, फोर्ड, एसेयर जस्ता कम्पनीहरुको लगानीको हव बनेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी छोङछिङ नगरका कार्यकर्ता भन्छन्, ‘हुआङ छियाङको पनि छोङछिङ निर्माणमा योगदान छ ।’ हुआङ छोङछिङको झण्डै आधा दशक मेयर बने । उनले लगानीमैत्री नीति ल्याए, विकास योजना कार्यान्वयनमा प्रशासनिक ढंगले नेतृत्व लिए, जसले छोङछिङलाई आजको यो वैभवसम्म पुर्याउन भूमिका खेले ।
आज अटोमोवाइल, इलेक्टोनिक्स, निर्माण र डिजिटल टेकले मात्रै होइन, आधुनिक मेट्रो सन्जाल, पाहाडमाथीको उड्ने रेल, रातको झिलिमिली प्रकाशले पनि छोङछिङलाई उज्यालाइरहेको छ । यहीँबाट युरोपको २ सय ३१ वटा सहरमा रेलबाट कार्गो जाने गरेको छ । बेलायत, क्यानडा, नेदरल्यान्ड्स, जापानसहितको १२ वटा देशको महावाणिज्य दूतावास अहिले यही छ ।
०००
२६ चैत, २०८१ मा छोङछिङ जाँदै गर्दा काठमाडौंमा रहेका मेरा चिनियाँ पत्रकार मित्र वाङ छिन्चुनले भनेका थिए– ‘छोङछिङ हटपटका लागि प्रसिद्द छ। मौसमका दृष्टिले पनि न जाडो, न गर्मी । उपयुक्त समय छ । तपाईहरुको भ्रमण मलाई लाग्छ एकदम राम्रो र रमाइलो हुनेछ।’
छिन्चुनले विइच्याटमा मलाई त्यहाँका बारेमा बताउँदै थिए। उनको कुराले मेरो मन उद्देलित थियो – कहिले त्यहाँको भूमि टेकौला, हटपटको स्वाद लिँदै छोङछिङले गरेको परिवर्तन र विकास हेरौंला, बुझौंला।
नेपालमा रहेका संघाई वेहुई दैनिकका पत्रकार मित्र वाङ छिन्चुनले सुझाएजस्तै छोङछिङ टेकेकै साँझ हामीलाई त्यहाँको चर्चित लोक्वाट गार्डेनमा ‘हट पट’को स्वाद लिन जाने मौका मिल्यो। चीनको सबैभन्दा ठूलो हट पट रेस्टुरेन्ट रहेछ त्यो।
हामीसँगै यात्राको साथी बनेकी चिनियाँ भाषाअनुवादक हुआङ दि (जसलाई नेपालबाट भ्रमणमा पुग्दा भटिने गरेकाहरुले भाग्यशाली भनेर सम्वोधन गर्छन्, चिन्छन्) भन्दै थिइन्,–‘सम्भवतः विश्वकै सबैभन्दा ठूलो हट पट रेस्टुरेन्ट थियो त्यो। पहाडको भित्तामा ढुङ्गाको आकृति भएका धेरै झिलिमिली रेष्टुरेन्टहरु। बेलुकीपख आन्तरिक र बाह्य पर्यटकका लागि आर्कषक स्वाद र मनोरञ्जनको केन्द्र।’
बगैंचामा ८०० भन्दा बढी डाइनिङ टेबलहरू। जसले एक पटकमा १० हजार ग्राहकहरूलाई अटाउन सक्ने सामथ्र्य राख्दोरहेछ। त्यही बसेर हामीले चीनको प्रशिद्द तातो हट पटको स्वाद लियौं।

भ्रमणदलको टोली नेता रहेका नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्मा हट पटको स्वाद मज्जैले लिइरहेका थिए । उमेरले ८६ वर्ष टेकेका शर्माले हामी सँगै टेवलमा रहेका माओवादीका प्रभावशाली युवा नेताहरु लेखनाथ न्यौपाने र रामदीप आचार्य देखि म सम्मलाई हौस्याइरहेका थिए ।
ताजा, मिठो, मसलेदार, पीरो हट पट को स्वाद वास्तवमै जिव्रो लठ्याउने खालको थियो । मौसम पनि उस्तै हामीलाई अनुकुल खालको शित्तल । झण्डै दुई घण्टा हामीले लोक्वाट गार्डेनमा बितायौं । तात्तातो मसलेदार हट पटको स्वाद चाखेर साँझ अबेर हामी झिलिमिली सहर नियाल्दै चिनियाँ कम्युनिष्ट पार्टीको छोङछिङ नगर कमिटि स्कुल फर्क्यौं ।

०००
चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निम्तोमा हामी छोङछिङ पुगेका थियौं । हामीलाई बसोबासका लागि पार्टीको आवासीय स्कूलमा ब्यवस्थापन गरिएको थियो । छोङछिङ पुगेदेखिनै तय भएको थियो हाम्रो ब्यस्त कार्यकतालिका ।
कहिले छोङछिङ अन्तराष्टिय लजिस्टिक हब पार्क, कहिले चाइना इन्टरनेशनल रेल कन्टेनर्स कम्पनी, छोङछिङ कृषि विज्ञान एकेडेमी, जिउलोङपो लोकतान्त्रिक गाँउ देखि छोङछिङको उत्तरी रेल चढ्नेसम्मका हाम्रो कार्यतालिका थिए ।
यी सबै क्षेत्रको अवलोकन गरेर हामीले छोङछिङले गरेको प्रगति नजिकबाट हेर्याैं। उत्तरी रेल चढेर नेपालकै ग्रामिण क्षेत्र जस्तै भूगोल शिजु जिल्ला सम्म पुग्यौं । त्यहाँ जोयङगी गाँउपालिका बैठकमा समेत बसेर कसरी गाँउको सरकार चल्ने रहेछ बुझ्ने मौका पायौं ।

शिजु तुजिया जातिको स्वायक्त जिल्ला रहेछ । त्यहाँको हुआसी गाँउको पारम्भिक मनोरथा आगान, जहाँ राष्टपति सी जिनफिङले सन् २०१९ अप्रिल १५ मा टेकेर एक जना जड्याहा फङसाङको गरिबी जीवन बदल्न खेलेको भूमिका प्रत्यक्ष सुन्यौं ।
आहा ! यस्तो पो देश !! यस्तो पो नेता !! यस्तो पो योजना !! देश यसरी पो बन्छ । हाम्रो भ्रमण टोलीका नेताहरु भन्दैथिए । गरिबी निवारण विकासक्रमको प्रर्दशनी, स्थानान्तरण गरेका गरिबी निवारण केन्द्र पनि भ्रमणका क्रममा हामीले अवलोकन गर्याैं, तुजिया जातिको खानपिनमा रमायौं ।
छोङछिङले विकासमा मात्र होइन, आफनो इतिहासलाई पनि जीवन्त राख्न निर्माण गरिएको संग्राहलय पनि कम रोचक थिएनन् । इतिहासलाई जस्ताको तस्तै संरक्षण गरेर राख्न सक्ने अदूभूत कला पनि चीनसँगै छ । जेल, युद्द स्मारकहरुलाई समेत आन्तरिक र बाह्य पर्यटक लोम्भाउन बनाएको संग्रहालयले त्यसको झल्को दिन्छ ।
गल पहाडको मध्यभागमा रहेको बाइगोडुअन जेललाई ऐतिहासिक पर्यटकीय स्थलमा गरेको विकास छोङछिङको इतिहास अध्ययनका लागि जीवन्त प्रर्दशनीस्थल बनेको छ । यो जेल केएमटी गुप्तचर संगठनको प्रमुख दाई लीले किनेर जबर्जस्ती जेलमा परिणत गरेको र गम्भिर मुद्दाका उच्चस्तरका राजननीतिक बन्दीहरुलाई राखिएको ठाँउ रहेछ ।
१९४९ नोभेम्बर २७ मा गुप्तचरहरुले क्रान्तिकारीहरुलाई गोप्य रुपमा सोङिलनपोमा लगेर नरसंहार गरेको यो जेलको इतिहास पढाउन र बुझाउन छोङछिङले यसलाई अहिले संग्राहलयमा बदलेको छ ।
जाजिदोङ जेललाई पनि उस्तै संरक्षण छोङछिङले गरेको छ । कोइला खन्ने सानो खानीलाई सन् १९४३ मा केएमटी गुप्तचर संगठनले कब्जा गरेर जेलमा परिणत गरेको इतिहासलाई पनि संग्रहालयको रुपमा सुरक्षित राखेको छ ।

त्यस्तै, होङयान क्रान्तिकारी स्मारक संग्रहलयलाई पनि छोङछिङले आन्तरिक वाह्य पर्यटक भित्र्याउने केन्द्र बनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको दक्षिण ब्यूरोको इतिहास र सांस्कृतिक अवशेष त्यस संग्राहलयमा प्रर्दशनी गराउने गरी जीवन्त राख्ने काम छोङछिङले गरेको छ ।
कुनै भीमकाय भवनको बीचबाट रेल गुड्ने अनौठो विकास पनि यही छोङकिङमा देखिन्छ । यसलाई लिजियाबा मेट्रो स्टेशन भनिदो रहेछ । यसको विशेषता भनेको मेट्रो रेलको ट्र्याक एक आवासीय भवनको भित्रबाट गुड्ने रहेछ । रेल गुडेको हेर्न त्यहाँ मान्छेहरुको भीड नै लाग्ने रहेछ । हामीले त्यसको पनि अवलोकन गर्यौं ।

छोङछिङको यो परिवर्तनले देखाउँछ दूरदर्शी नीति, राजनीतिक प्रतिवद्दता र जनसक्रियता देखिए कुनै पनि सहर सम्भावनाको सिमानापार गर्न सक्छ । छोङछिङ त्यही एउटा परिवर्तनको कथा बोकेको सहर हो । जसले सिंगो चीनको विकासको विम्व बोकिरहेको छ ।
प्रतिक्रिया